तातो सडकमा खाली खुट्टा

अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको इतिहास जति पुरानो छ त्यति सुखद र गर्व गर्नलायक भने छैन । सन् १९५१ मा नयाँ दिल्लीमा भएको ‘एसियन गेम्स’बाट अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता सुरु गरेको नेपालले २२ वर्षसम्म कुनै पदक हात पार्न सकेन । केवल निरन्तरतामा मात्रै सीमित नेपालको खेलकुदको इतिहासलाई काँस्य पदक जितेर क्रमभङग गरेका थिए, धावक जितबहादुर केसीले । सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन एथलेटिक्स (ट्र्याक एन्ड फिल्ड) च्याम्पियनसिपमा केसीले जितेको काँस्य पदकले २२ वर्षसम्मको हारको इतिहासलाई ‘ब्रेक’ मात्रै गरेको थिएन, नेपाली खेलकुदको नयाँ बाटोसमेत खोलिदिएका थिए । केसीले खोलेको बाटोमा केही हिँडे पनि अझै पनि त्यसलाई मूल बाटो बनाउन सकेका छैनन् । नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल पदक यात्राबारे उनको सम्झनाः

 मनिलाको एक सुविधासम्पन्न होटलमा छु । जसरी भए पनि जित्नु छ । मेरो दिमागमा जितिन्छ भन्ने आत्मविश्वास छ । हारिन्छ कि भन्ने चिन्ता पनि उस्तै । हारे इतिहासको निरन्तरता, जिते इतिहासमा क्रमभङ्गता हुनेछ । तर, विश्वास थियो, ‘केही न केही त अवश्य जित्छु ।’ यही चिन्ताले अघिल्लो रात निद्रा परेन । नेपाली टोलीमा भक्तबहादुर सापकोटा, केशरबहादुर बानियाँ, बैकुण्ठ मानन्धर र म राति अबेरसम्म गफिएका थियौँ । एक वर्षअघि मात्रै ओलम्पिक छनोटमा एसियन गोल्ड मेडलिस्टलाई हराएको थिएँ मैले । यही कारणले पनि मेरो मनोबल उच्च थियो । ‘गोल्ड मेडलिस्ट त हराउने मान्छे म कमजोर छैनँ’ भन्ने मलाई आत्मबल थियो । ओलम्पिकमा दौडने क्रममा मेरो मसल फुटेको थियो । उपचारपछि म पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै थिएँ । धेरैले पदकको दाबेदारका रूपमा हेरेका थिए मलाई । खेलप्रेमीहरूको विश्वास थियो, ‘जितबहादुर पदक जित्छ ।
त्यस दिन बिहान उठ्दा मौसम खराब थियो । पानी परिहाल्ला जस्तो गरी आकाशमा बादल लागेको थियो । दौडनका लागि नाइलनको जुत्ता दिइएको थियो । दौडमा जुत्ताको महत्व कस्तो हुन्छ, हामीलाई थाहा त थियो । तर, अन्य खेलाडीको जस्तो राम्रो जुत्ता थिएन हामीसँग । अन्य प्रतिद्वन्द्वी खेलाडीले उच्चस्तरको जुत्ता लगाएका थिए । जब दौडिने समय भयो, कोरिया र जापानका खेलाडीको रवाफ छुट्टै थियो, मानौँ तिनीहरू विश्वविजेता हुन् । अहिले अफ्रिकीको जस्तै त्यसबेला एसियाली क्षेत्रमा कोरियाली, जापानीको दबदबा थियो, एथलेटिक्समा । उनीहरू दक्षिण एसियाकालाई खेलाडी नै मान्दैनथे । तर, ओलम्पिक छनोटमा मैले राम्रो प्रदर्शन गरेका कारण मलाई भने बलिया प्रत्यासीका रूपमा हेरेका थिए उनीहरूले । दौडिने बेला सबै नेपाली धावकमा एक किसिमको साहस र ऊर्जा देखेको थिएँ मैले । दौड सुरु गरेको केही समयपछि मुसलधारे वर्षा सुरु भयो । कालोपत्रे बाटामा हामीलाई दौडाइएको थियो । वर्षाका बेला दौडन त गाह्रो हुने नै भयो, सुरुआतमा मलाई पनि । एकछिन पछि त ट्र्याक पुरै पानीले भरियो । हिँड्नसमेत गाह्रो भयो । पानीले भरिएपछि नाइलनको जुत्ताले खुट्टा कटकट खायो । सजिलो होस् भनेर बाटाको छेउबाट दौडन खोजेँ । तर, आयोजकले बीचतिर लगाइदिए । पानीमा पुरै खुट्टा डुब्यो । नाइलनको जुत्ता, पानीले भरिएपछि गह्रौँ भयो । केही छिनमै एउटा जुत्ता फुस्कियो । मलाई ठूलै सङ्कट आइप¥यो । केही प्रतिद्वन्द्वी मभन्दा अगाडि लागिसकेका थिए । जुत्ता खोजौँ कि अर्को पनि फुकालेर खाली खुट्टा दौडौँ भन्नेमा दुविधा भयो । जुत्ता खोजेर दौड्यो भने त्यो मूर्खताबाहेक अरू केही हुन्नथ्यो । किनभने, पानीले भरिएको त्यो बाटोमा जुत्ता खोजेर अनि लगाएर दौडिँदा म लक्ष्यमा पुग्न सक्दिनथेँ । त्यसैले अर्को पनि जुत्ता फुकालेर फ्याँकिदिएँ । त्यसपछि मुस्किलले आपूmलाई सन्तुलनमा ल्याइरहेको थिएँ । वर्षा अचानक रोकियो । फिलिपिन्सको मौसम त अचम्मको हुँदो रहेछ । अचानक चर्को घाम लाग्यो । केही छिनअघि बाटामा टिलपिल रहेको पानी सुक्यो ।
चर्को घाम लागेपछि सडकबाटै वाफ उठेजस्तो भयो । अघिसम्म नाइलनको जुत्ताले यातना दिएको थियो । अब चर्को घामले । चर्को घाममा खुट्टा पटपटी फुट्न थाल्यो । औँलाका कापबाट रगत बग्न सुरु भयो । तर, त्यसको कुनै पर्वाह गरिनँ । देशलाई सम्झिएँ । पशुपतिनाथलाई सम्झिएँ । आत्मबल प्रदान गर्ने सबैलाई सम्झिएँ । र, सम्झिएँ जितेरै आउनुपर्छ भनेर हौस्याउने नेपालीहरूलाई । सबै दुःख बिर्सिएर मैले आपूmलाई प्रतिस्पर्धी बनाए । अन्तिमसम्म म दुई कोरियनको मात्र पछि थिएँ । मभन्दा पछि भएका नजिकका प्रतिद्वन्द्वीहरू पनि नेपाली धावक नै थिए । अन्ततः म दुई कोरियनको मात्र पछि भएँ । दोस्रो भएका कोरियन र मबीच अन्तिम समयसम्म कडा प्रतिस्पर्धा भएको थियो । तर, पनि तेस्रो भएँ । कास्य पदक जितेँ । त्यस गर्मीमा बगाएको पसिना र रगतको ठूलै मूल्य पाएँ । काँस्य पदक जितेपछि हिमालको देशको यति सानो फुच्चेले सफलता हात पा¥यो, सबैले बधाई दिए ।
छैन प्रमाण
सन् १९७३ को एसियन एथलेटिक्स च्याम्पियनसिपमा पदक जितेको प्रमाण मसँग अहिले केही छैन । कसैले प्रमाण मागिहाले फोटो देखाउनुबाहेकका विकल्प मसँग छैन । कुरा हो, २०३८÷३९ तिरको । लैनचौरतिर परिवारसहित कोठामा बस्थ्यौँ । दिउँसो (गते बिर्सिएँ) अफिसतिर आएको थिएँ । श्रीमती गार्मेन्टतिर गएकी थिई । केटाकेटी स्कुलतिर गएका थिए । घरबाट एक्कासि कोठा फोडिएको थाहा पाएँ । बाक्सा, सुटकेस चोरले लगेछ । बाक्सामा मेरो मेडल र त्यसको प्रमाणपत्र थियो । त्यसपछि प्रहरीलाई खबर गरेँ । प्रहरीले पनि खोजी गर्छु भन्यो तर केही पत्ता लागेन । यस विषयमा राखेपलाई पनि जानकारी गराएँ । तर, कसैले वास्ता गरेनन् । आफ्नो मान्छे ठाउँमा नभएपछि आकाशको तारा झारे पनि केही नहुने रहेछ ।
प्रस्तुतिः लोकेन्द्र प्रसाईं

प्रतिक्रिया