उत्तरआधुनिकतालाई महान् भन्नेहरु बौलाहा हुनु

डा.तारानाथ शर्मा, साहित्यकार

हिजोआज के लेख्दै हुनुहुन्छ ?
–जाडोले कलम समाउन पनि गाह्रो छ । हिटर बाल्न नियमित बिजुली आउँदैन । केही लेख्न सकिरहेको  छैन । अहिले टाइम्स इन्टरनेसनल कलेजको प्रिन्सिपल भएको छु । त्यही कलेजमा व्यस्त हुन्छु ।
कुन सपनाले प्रेरित भएर लेख्न सुरु गर्नुभयो ?
– जब पढ्न थालेँ शिक्षा र साहित्य एउटै हो भन्ने लाग्न थाल्यो । पारसमणि प्रधान, शिवकुमार राई, रूपनारायण सिंहलगायतका रचनाले लेख्ने प्रेरणा मिल्यो । उहाँहरूका रचनाले निकै तान्थ्यो । लेखनाथ, देवकोटा र बालकृष्ण समका रचना पढ्न थालेपछि झनै साहित्यमा रुचि बढ्यो । उतिबेला म खर्साङमा पढ्थे १० कक्षामा । अलिअलि कविता लेख्थेँ, महाकवि देवकोटा दार्जिलिङमा हुनुहुन्थ्यो । उहाँलाई भेट्न आएँ । देवकोटाले भन्नुभयो, ‘बाबु कविताले हृदय डढायो, कविता कहिल्यै नलेख्नू है, यसले हृदय मात्र जलाउँछ । मलाई यसले बौलाहा बनायो र राँची पुरायायो । त्यसपछि मैले ‘पागल’ कविता लेखेँे ।’ अनि, मैले उहाँलाई ‘म निबन्ध लेख्छु, उसो भए भनेँ । उहाँले आशीर्वाद दिनुभयो र निबन्धैमा हेलिएँ । पछिल्लो समयमा मैले निबन्धभन्दा पनि नियात्रालाई जोड दिएको छु । म यात्रामा भेटिएका भावना र अनुभूतिलाई नियात्रामा उतार्छु ।
तपाईंले निबन्ध नलेखेर कसलाई बेफाइदा हुन्छ ?
– फाइदा बेफाइदाभन्दा पनि म आत्मसन्तुष्टिका लागि लेख्छु । मेरो निबन्ध पाठकले रुचाइदिएका छन् । त्यति भए मलाई पुगिहाल्यो ।
निबन्धको सबैभन्दा ठूलो शत्रु को हो ? झुर लेख्ने निबन्धकार कि, झुर समालोचक ?
– शत्रु ! म कसैलाई पनि शत्रु ठान्दिनँ । साहित्यमा कुनै पनि विधाको शत्रु हुँदैन । अर्काबारे कुरा नगरौँ, कम्तीमा लेखिरहेका छन्, प्रयत्न गरिरहेका छन् । आफूलाई ठूला भन्ने निबन्धकार बौलाहा छन् । जो उत्तरआधुनिकतालाई महान् भन्दै हिँड्नेहरू बौलाहा हुन् । ‘उत्तरआधुनिकता’ भन्दै हिँड्ने बेबकुफहरूले नै लेखनमा विकृति विसङ्गति भित्र्याएका छन् । यो जनताको विपक्षमा छ ।
तपाईंले निबन्ध लेख्न थाल्नुभएको दशकौँ भयो । यसबीच नेपाली निबन्धमा शैलीका हिसाबले के परिवर्तन आयो ?
– अवश्य आयो । म पहिले श्यामप्रसाद शर्मा, भीमनिधि तिवारीको शैलीबाट निकै प्रभावित थिएँ । सामान्य गाउँलेले पनि बुझ्ने, झर्रो भाषा प्रयोग भएका निबन्ध लेखौँ भन्दै झर्रो भाषाको आन्दोलन पनि चलाएँ । र, अहिले त्यही शैली नै निबन्धमा निकै रुचाइएको छ । समयअनुसार केही परिवर्तन त अवश्य हुन्छ ।
लेख्नुअघि केही पूर्वतयारी गर्नुहुन्छ ?
– आलोचना लेख्दा पूर्वतयारी व्यापक हुन्छ । यसमा बौद्धिकता, सत्य र जनतालाई फाइदा हुने कुरा कति छन्, प्रगतिशील किसिमका छन् कि छैन ? तिनको मूल्याङ्कन गरिन्छ, टिपोट गरिन्छ । समाजलाई बिगार्ने कुरा छ, भने त्यसको विरोध हुनेछ मेरो । निबन्धभन्दा उपन्यास वा समालोचना लेख्दा निकै पूर्वतयारी गर्छु ।
नेपाली लेखकले आफ्नो सामाजिक बनोट र भूबनोटलाई चिनेर लेख्न सकेजस्तो लाग्छ ?
– हामी बाहिरका उत्तरआधुनिकतावाद, माक्र्सवाद, माओवाद, जनवाद भनेर ल्याउनुभन्दा नेपाली जनताको वाद ल्याऊँ  । हाम्रा लेखकहरू माक्र्स, माओवाद केही नबुझी लेख्छन् । हामीले एउटा अमूक सिद्धान्तभन्दा सत्यलाई पछ्याउनुपर्छ । जनताको जीवन ल्याउनुपर्छ साहित्यमा, दुःख–हाँसो पो ल्याउनुपर्छ ।
तपाई आफैँले चाहिँ नि ?
– अवश्य मेरो लेखाइमा नेपाली समाज राम्रैसँग आएको छ । म शिरमा सगरमाथा बोकेर हिँडेको छु, भृकुटी, सीता, बुद्धलाई मात्रै सम्झिएर लेख्छु । राष्ट्रियता नै मेरो लेखाइको मूल मन्त्र हो ।
तपाईंको सिर्जना तपाईंका लागि कत्तिको प्रत्युत्पादक हुने गरेको छ ?
– कसरी प्रत्युत्पादक हुन्छ ? मैले कुनै पनि साहित्य वा किताब पैसा पाऊँ भनेर लेखेकै होइन । मेरा भावना सिर्जनका लागि मात्र लेखेको हुँ, पाठकहरूले रुचाइदिए भने मलाई पुग्छ । साथीहरू, देशसँग आफ्ना कुरा सेयर गरौँ भनेर लेखेको हुँ ।
तपाईं उत्तेजनाले लेख्नुहुन्छ कि विवेकले ?
– प्रेम र स्नेहले लेखिन्छ कुनैबेला । मेरो ‘आँसु छचल्किँदै जान्छ’ भन्ने कृति मेरो बुबा देहान्त भएको वेदनामा लेखेको हुँ । कहिलेकाहीँ मभन्दा ठूला लेखकबारे लेख्दा पनि रुन्छु । लेख्दा आँसुले लतपत हुन्छु । किन हो, कहिलेकाहीँ लेख्दालेख्दै आँसु कति बग्छ पत्तो हुँदैन । लेखनमा विवेक र भावना दुवैको प्रयोग हुन्छ ।
तपाईंको लेखनको बलियो पाटो र कमजोर पाटो के हो ?
– मेरो लेखनको कमजोर पाटो त छँदै छैन, म मान्दै मान्दिनँ । लेखनको बलियो पाटो के भने मेरो शैली राम्रो छ, विषय राम्रो छ । जनपक्षीय छ । र, सबैले मेरो लेखन मन पराएका छन् ।
लेखक र पाठकबीच समालोचकको के भूमिका हुन्छ ?
– समालोचकले व्याख्या गरिदिनुपर्छ । यस कृतिमा यो राम्रो पाटो हो, यो नराम्रो पाटो हो भनेर पाठकलाई राम्रोसँग बुझाइदिनुपर्छ । कृतिको मूल्याङ्कन राम्रै गरी लेखिदिनुपर्छ ।
लेखेर के हुँदोरहेछ, तपाईंको निष्कर्ष के हो ?
– आत्मसन्तुष्टि । आनन्द आउँदैन लेखिसकेपछि ? मन हलुका हुन्छ नि ।
तपार्इंबाट नयाँ पुस्ताका अरू लेखकले के सिक्ने ?
– शैली, भाषाको कलात्मकता, इमानदार भएर लेख्न, स्वच्छ विचारले लेख्न र अरूलाई पीर पारेर लेख्नु हुँदैन भन्ने सिक्ने ।
प्रस्तुतिः दीपक, राजेश

प्रतिक्रिया