चकलेट

रमेशको खल्तीमा सधै चकलेट हुन्थ्यो । गाउँघरका दरिद्र बच्चाबच्चीले खाने खालको सस्तो चकलेट । ऊ चकलेट खाँदैनथ्यो । बस्, खल्तीमा राखेर छामिरहन्थ्यो र के–के सोचिरहन्थ्यो ।
कति दिनदेखि सरसोतीहरूले पेटभरि खान पाएका थिएनन् । मधेसको एउटा गरिब गाउँ । परिश्रम नगरी कसले पो खान पाउँछ र ? सबैलाई आफ्नै र आफ्नै परिवारको पापी पेटको चिन्ता । यस्तोमा कसले कसलाई मद्दत गर्छ र ? आफैले जाँगर चलाएन, मेहेनत गरेन भने भोको बस्नु बाहेक अरू कुनै विकल्प हुँदैन । तर रमेश कति अल्छी कति । कुनै काम पनि नगर्ने । बस्, कता कता टोलाएर खल्तीको चकलेट छामेर बसिरहने । सानोतिनो काम गर्दा इज्जतै जाला जस्तो गथ्र्यो ऊ ।
सरसोती विधवा थिई । होलिया माइती र बगौडा घर । एकदिन चट्याङ परेर लोग्ने म¥यो । घर र माइती दुवै हुनसम्मका गरिब । ऊ दुवै ठाउँमा बोझ भई । यस्तैमा रमेश भेटिएको थियो । तीन वर्षअघि मात्र उसले विधवा सरसोतीलाई बगौडाबाट भगाएर ल्यायो । सरसोतीसँगै उसका तीन छोरीलाई पनि ल्याएको थियो उसले । एक वर्षपछि ऊतिरबाट पनि छोरी नै पाई सरसोतीले । चार छोरीको बाउ भयो रमेश । भगाएर ल्याउनुअघि सरसोतीसित कति कति वाचा गरेको थियो उसले । ‘तँलाई र छोरीहरूलाई सुख्खले राख्छु’ भनेर कति ठूलो सपना देखाएको थियो उसले । सरसोतीले पनि उसको बोलीवचनमाथि विश्वास गरी । छोरीहरूले पेटभरि खान पाउलान् भन्ने आशाले त ऊ रमेशसित भागेर आएकी थिई । सारा लोकलाज बिर्सिएर । नत्र एक धुर पनि जग्गाजमिन नभएको रमेशको ओछ्यान हुन मात्र ऊ किन आउँथी र ?
उसले धेरैपटक रमेशसित गुनासो गरी । केही कामधाम गर्न कति अनुरोध गरी कति । तर टेर्ने हैन । उल्टो फुर्ति लाउँदै भन्थ्यो—
‘तँ चिन्ता किन गर्छेस् । एकदिन हेरिराख् म लखपति हुन्छु । चिट्ठा पर्छ मलाई ।’
सरसोतीले केही बुझिन । कसरी चिट्ठा पर्छ उसलाई थाहा छैन । तर रमेशको व्यवहारमा कहिल्यै केही परिवर्तन आएन । कहिल्यै कुनै जिम्मेवारीबोध गरेन उसले । कहिल्यै गम्भीर भएन ऊ । लिच्चडै भैदियो ऊ । गति नै छाडेपछि कसको के लाग्दोरहेछ र ? ऊ बस् गाउँमा बरालिएर बस्थ्यो । गाउँका भट्टीहरूमा गएर उधारोमा रक्सी खान्थ्यो । मात्तिन्थ्यो र छाप्रोमा आएर सरसोतीसित चकलेट खेलाउँदै गफ हाँक्थ्यो—
‘म एकदिन लखपति हुन्छु । चिट्ठा पर्छ मलाई ।’
०००

एकदिन चकलेट खेलाउँदा खेलाउँदै रमेशको अनुहार उज्यालो भयो । उसको मथिङ्गलमा केही सलबलायो । दिमाग निकै सक्रिय भयो । त्यसपछि उसले अनौठो कुरो ग¥यो । उसले सरसोतीलाई भन्यो—
‘हेर् सरसोती, अब यसरी हात बाँधेर बसेर भएन । म जमुनहातिर तरकारी दुकान खोल्छु ।’
आजसम्म हात बाँधेर बसेको रमेशले यसो भनेपछि उसलाई जीवनप्रति अलिकति भए पनि आशा पलायो । अब भोकले मरिन्न भन्ने विश्वास भयो उसलाई । बल्ल रमेश उसलाई लोग्नेजस्तो लाग्यो । त्यसदिन रमेशले आफ्नो गोजीको चकलेट झिक्यो । छोरीहरूलाई खुवायो । सरसोतीलाई पनि खुवायो । आफूलेले पनि खायो । चकलेटजस्तै जिन्दगी पनि केही गुलियो–गुलियो लाग्यो सरसोतीलाई त्यतिबेला ।
०००

तीन–चार दिन जमुनहातिर धाएपछि रमेशले महिनाको एक हजार भाडामा एउटा गुम्ती फेला पा¥यो । त्यो पनि महिना मरेपछि पैसा दिए हुने गरी । दुकान खोल्न तैपनि दुई हजार त चाहिने नै भयो । सरसोतीले आफ्नो चाँदीको हसुली बेची । पन्ध्र सय जति त्यसैबाट आयो । बाँकी पाँच सय खोज्न सरसोती आफंै सीमापारिको रुपैडिहाबजार गई । त्यहाँ आफूलाई बेलाबेलामा कागजको थोँगा बनाउन दिने ठेकेदार नत्थुरामसित हात जोडेर याचना गरी । अन्ततः नत्थुराम बाध्य भयो र पाँच सय पेस्की दियो ।
यसरी दुई हजारको लगानीमा रमेशले तरकारीको दुकान खोल्यो । दिनमा सय–डेढ सय कमाइ हुन थाल्यो । गाउँबाट जमुनहा कति नै टाढा थियो र ? त्यसैले सरसोती पनि चारैवटी छोरीहरू लिएर बिहानै जमुनहा पुग्थी । गुम्ती खोल्थी । त्यतिन्जेल रुपैडिहाबाट तरकारीको भारी लिएर रमेश पनि आइपुग्थ्यो । दुकानमा तरकारी सजाएर राखिसकेपछि सरसोती चारखुट्टे गुम्तीमुनि बसेर स्टोभ बाल्थी र गिल्टीको कसौँडीमा भात बसाउँथी । छोरीहरू सडक छेउछाउ खेल्न थाल्थे । खाना खाइसकेपछि उसले फुर्सद पाउँथी । अनि ऊ गुम्तीमुनि बसेर पुराना अखबारका थोँगाहरू बनाउन थाल्थी ।
एघार बजेपछि सडक एकदम व्यस्त हुन थाल्थ्यो । दस बजेपछि नेपालगन्ज भन्सार खुल्थ्यो र त्यसपछि नेपालगन्जबाट खयरका काठहरू बोकेका ट्रकहरू धमाधम जमुनहा हुँदै रुपैडिहातिर जान थाल्थे । रुपैडिहातिरबाट पनि त्यत्तिकै मालवाहक ट्रकहरू लछारपछार गर्दै आउँथे । जमुनहाको सडक अत्यन्त व्यस्त हुनथाल्थ्यो । त्यतिबेला सडकमा टाँगा, मोटरसाइकल र माइक्रोबसको ओहरदोहर पनि अत्यन्त तीव्र हुन्थ्यो ।
खाना खाइसकेपछि सरसोतीलाई रमेशले मायालु स्वरमा भन्थ्यो—
‘कति काम गर्छेस् ? आराम गर् ।’
अनि गुम्तीभित्रै बोरा ओछ्याएर सुत्थी सरसोती । आजसम्म नदेखेका मीठा मीठा सपना पनि देख्न थाल्थी ।
त्यहीबेला रमेशले हत्तपत्त खल्तीमा राखेको चकलेट झिक्थ्यो र बीच सडकतिर हु¥र्याइदिन्थ्यो । नाबालक छोरीहरू दौडादौड गरेर बीच सडकमा छरिएका चकलेटहरू टिप्नका लागि तँछाड–मछाड गर्थे । खोसाखोस गर्थे । त्यहीबेला रमेश भगवान्सित प्रार्थना गथ्र्यो—
‘हे भगवान्, कुनै एउटी छोरी मरोस् । कुनै गाडीसाडीले कुल्चियोस् उसलाई ।’
०००

पाँच महिनाको यस्तो प्रयासपछि रमेश आफ्नो उद्देश्यमा सफल भयो । सडकमा छरिएका चकलेट टिप्न गएकी उसकी कान्छी छोरीलाई खयरका काठहरू बोकेर इन्डियातिर जान लागेको ट्रकले कुल्चियो । उसको टाउकाको गिदी सडकभरि छ्यालब्याल भयो । एकछिन छटपटिएर बीच सडकमा ऊ मरी ।
त्यसपछि रमेश हत्तपत्त बीच सडकमा आएर उभियो र छाती पिट्दै रोइकराइ गर्न थाल्यो । उसको रुवाइमा व्यथा थिएन । सरसोती पनि अत्तालिएर ब्युँझिई । एकछिन कुरै बुझिन । तर सडकमा आफ्नी कान्छी छोरीको अधकल्चो लास देखेपछि ऊ पनि कहालिएर रुन थाली । तर उसको रुवाइमा व्यथा थियो ।
भिड जम्मा भयो । सडक जाम भयो । तमाम मान्छेहरू भेला भए । हो–हल्ला भयो । पुलिस केस भयो । ट्रक ड्राइभर समातियो । अन्ततः सरसोतीहरूले एक लाख रुपियाँ क्षतिपूर्ति पाए । केस टुङ्गियो ।
एक लाख बुझ्दा रमेश रोइरहेको थियो । रुँदैरुँदै एक लाखको बिटो गनिरहेको थियो । तर यतिबेला पनि उसको रुवाइमा व्यथा थिएन । एक लाख देखेपछि सरसोतीले पनि चित्त बुझाई ।
०००

भोलिपल्टै रमेश गाउँबाटै बेपत्ता भयो, एक लाख लिएर । छेउकै गाउँकी एउटी विधवालाई उसका दुइटी छोरीसहित भगाएर लगेको रहेछ उसले । पछि थाहा भयो उसले दुकान खोल्ने भनेर गाउँभरिकासित सापटी पनि लिएको रहेछ । कसैसित पाँच सय, कसैसित एक हजार, कसैसित दुई हजार । पत्याउने पनि कस्ता ।
अन्ततः रमेशले गाउँभरिका सित लिएको सापटी सरसोतीले तिर्नैपर्ने भयो । नत्थुरामको कागजको पुरियाको व्यापार बन्द भयो । उसले पनि सरसोतीसित पेस्की दिएको रकम फिर्ता माग्यो । यसरी सबै मिलाएर बीस हजार तिर्नुपर्ने भएछ । उसले छाप्रो नबेचेर सुखै पाइन । सरसोती बेघर भई ।
०००

त्यसपछि सरसोती गाउँ छाडेर जमुनहानेरको गुम्तीमै बस्न थाली । बाँकी तीनवटी नाबालक छोरीहरू लिएर । छाप्रो बेचेर उब्रिएको केही पैसाले तरकारी दुकान चलाउन थाली ।
तर उसको पुरानो टिबी रोग फेरि बल्झियो । आफूलाई केही भैहालेको खण्डमा तीनटी नाबालक छोरीहरूको कति बिचल्ली हुने हो, त्यसको आभासमात्रले पनि आतङ्कित बनायो उसलाई । उसले छोरीहरूका लागि पनि बाँच्नैपर्ने भयो । तर कसरी बाँच्ने ? उपाय के ? कहाँबाट ल्याउने उपचार खर्च ?
तर भोक र गरिबीले मानौँ आफंै बाटो देखायो उसलाई । उसको अनुहार पनि उज्यालो भयो । धपक्क बल्यो । अनि उसले पनि बीच सडकमा चकलेटहरू फाल्न थाली । प्रार्थना गर्न थाली—
‘हे भगवान्, कुनै एउटी छोरी मरिदिए पनि हुन्थ्यो ।’
०००

प्रतिक्रिया