नयाँ सम्झौताका पक्षमा माओवादीः नेता गुरुङ

काठमाडौ, १९ फागुन । एकीकृत माओवादीका मुख्य सचेतक देब गुरुङले संविधान जारी गर्न दलहरुका बीच नयाँ संझौताको आवस्यक्ता औल्याएका छन् ।
उनले जेठ १४ गते भित्र संविधान निर्माण गरेर जारी गर्न फेरि पनि नयाँ सम्झौता गर्न दलहरु तयार हुनु पर्ने बताए । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा गुरुङले सात बुँदे सम्झौता शान्ति, संविधान र सहमतिको सरकारको विषयमा पूर्ण रुपमा काम गर्न नसकेको बताए । उनले संविधान निर्माणको समय कम भए पनि संविधान बन्ने सम्भावना जीवितै रहेको बताएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काले फागुन मसान्त सम्ममा शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसके प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई कायमै राखेर मुलुकलाई बन्धक बनाउन नसकिने बताए । उनले प्रधानमन्त्रीले राजीनामा दिएर सहमतिका लागि मार्ग प्रसस्त गर्नु पर्ने सुझाव दिए ।
एमाले मुख्य सचेतक भीमप्रसाद आचार्यले  फागुन मसान्त भित्र शान्ति प्रक्रिया अगाडि बढ्न नसके सरकार मुलुकका लागि अभिसाफ प्रमाणित हुने बताए । उनले संविधानका विवादित विषयमा एक साता भित्र सहमति बन्ने समेत बताएका छन् ।

प्रतिक्रिया