बीरगन्जका ५२ कैदीको सरुवा

बीरगन्ज, १९ फागुन । स्थानीय प्रशासनले बीरगन्ज कारागार प्रमुख र नाइके सहित ठूलो संख्यामा कैदीहरुलाई अन्यत्रै सरुवा गरेको छ ।
कारागारका निमित्त प्रमुख रुपनारायण चौरसिया र नाइके उमेश चौधरी सहित ५२ जना कैदीलाई देशका विभिन्न कारागारमा सरुवा गरिएको हो । गत शुक्रबार कैदीहरु बीच झडप भएपछि आन्तरिक सुरक्षा व्यवस्था मिलाउन देशका विभिन्न कारागारमा सरुवा गरिएको कारागार व्यवस्था विभागको भनाई छ ।
कैदीहरुलाई पाल्पा, कपिलवस्तु, भीमफेदी, रसुवा र केन्द्रीय कारागार नख्खुमा सरुवा गरिएको छ । कैदीहरु देनी लामा, गोपाल खत्री, कमल पनेरु, सुरेश तामाङ्ग, किरण प्रभात नेपाली, सुर्दशन महत्तो, दीपक साह, चन्द्रबहादुर थापा मगर, रविन्द्र बहादुर श्रेष्ठ, नवीन थापा र किशन गुरुङ्ग लगायतलाई समेत अन्यत्र कारागारमा पठाइएको छ ।
कारागार प्रमुख रुपनारायण चौरसियाको स्थानमा वीरगन्ज कारागार सर्लाही प्रमुख सुरेन्द्र प्रधान सरुवा भएर आएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा उनीहरुलाइ बीरगन्ज कारागारबाट अन्यत्र सरुवा गरिएको कारागार व्यवस्थापनले जनाएको छ । गत फागुन १२ गते बीरगन्ज कारागारमा भएको झडपमा १२ जना भन्दा बढी कौदीहरु घाइते भएका थिए ।

प्रतिक्रिया