बिन्दास प्लस टु

उच्च अध्ययनका लागि दोलखाबाट राजधानी आइपुग्दा निकै नौलो परिवेश थियो, दोलखाकी मन्जिता दाहाललाई । के नमिलेजस्तो, केही नपुगेजस्तो । पशुपति क्याम्पस, चाबहिलमा भर्ना हुँदालगत्तैको वातावरण उनका लागि अभ्यस्त थिएन । १२ कक्षामा पढिरहेकी उनलाई अहिले भने यो सहर अनि क्याम्पस दुवै नौला लाग्दैनन्, घुलमिल भइसकिन् । उपत्यकाबाहिरबाट अध्ययनका लागि काठमाडौँ आउने हरेकको अनुभूति प्रायः मन्जिताकै जस्तो हुन्छ । जब कलेजमा साथी भेटिन्छन्, दोस्ती बढ्छ, पूरै सेरोफेरो आफ्नैजस्तो लाग्न थाल्छ । पशुपति क्याम्पसमा यस्तो अनुभूति बोकेका विद्यार्थी अरू पनि छन् । ‘क्याम्पसमा धेरै जिल्लाका विद्यार्थी भेटिन्छन्, ती सबैको साथी हुन पाउँदा मज्जा लाग्छ,’ काभ्रेबाट आएकी सुमित्रा अधिकारीले फुरुङ्ग हुँदै भनिन् ।
आपूm बसेको गाउँ र परिवार छोडेर एक्कासि एक्लै सहर झर्दा दैनिकीमा केही अप्ठ्यारो त आउँछ नै । सँगसँगै उमेरले माग्ने स्वतन्त्रता र परिवेश पनि पाइने भएपछि थोरबहुत मस्तीमै बित्छ प्रायको प्लस टु लाइफ । सोही क्याम्पसमा व्यवस्थापन सङ्काय पढिरहेका रोशन सुवेदीलाई सहरको धूवाँ र धूलो अब नौलो लाग्न छाडिसक्यो । उनीसँगका टिनएजर्सहरू अब सहरसँग भ्mयाम्मिसकेका छन्, रमाइरहेका छन् ।
निजी क्याम्पसको तुलनामा सामुदायिक क्याम्पस अलि खुकुला लाग्छन् । क्लास चलिरहेका वेला भित्रबाहिर गर्न त्यति कडाइ पनि हुँदैन । सिन्धुपाल्चोककी गोमा गौतमलाई चाहिँ कक्षा चलिरहँदा त्यसो गर्नेहरू मन पर्दा रहेनछन् । सुनाइन्, ‘पढ्न मन नलागे क्लासमै नआउनु नि ।’ कडा अनुशासन भएका निजी क्याम्पसका विद्यार्थीले कलेज बङ्क गरेर मस्ती मारिरहँदा यहाँका विद्यार्थीलाई भने त्यसको कुनै आवश्यकतै छैन । मन खुसीले क्लासमा बस्ने÷नबस्ने निर्णय उनीहरूकै विवेकमा भर पर्छ । क्लासमा किन नआएको भनेर थर्काउने कोही हुँदैनन् । यसबीच पढाइ राम्रो हुनेमा विश्वस्त छिन् मन्जिता, ‘मन गर्नेले त क्याम्पसमा राम्रै पढिरहेकै छन् नि ।’
क्याम्पसमा हुने विद्यार्थी–राजनीतिको प्रभाव पनि उनीहरूमा परेकै हुन्छ । कहिलकाहीँ त प्रहरी र विद्यार्थीबीच मुठभेडसम्म पनि हुन्छ । एकपटक प्रहरीले विद्यार्थीलाई क्याम्पसभित्रै आएर कुटेको सम्झिइन् गोमाले, ‘हामी त्यतिखेर हलभित्र लुक्यौँ ।’ फ्री भएका वेला उनीहरू चिया पिउन क्यान्टिन झरिहाल्छन् । ‘हामी पढाइदेखि राजनीतिसम्मका कुरा गर्छौं,’ रोशनले चियाको कप समाउँदै भने । ‘हामीलाई त मतलब छैन है, राजनीति–साजनीति,’ केटीहरूले एकस्वरमा जवाफ फर्काए । क्याम्पसमा रमाइला कार्यक्रम त कत्ति हो कत्ति । विद्यार्थी सङ्गठनपिच्छेका कार्यक्रममा खुब मोज गर्छन् उनीहरू । गाउँछन्, नाच्छन् अनि हुटिङ पनि गर्छन् ।
काठमाडौँमा रहँदा उनीहरू फुर्सदको समयमा घुम्ने गर्छन् । समय मिलेसम्म साथीसँगै घुम्न चाहन्छन् । नहुँदा नि ? ‘अँ, म त ड्याडीसँग घुम्न निस्कन्छु,’ गोमाले गम्दै भनिन् । ‘ब्वाइफ्रेन्ड छैन कोसँग घुम्नु त ?’ सुमित्रा मुस्कुराइन् ।
मन्जिताले मस्कँदै भनिन्, ‘म त माइजूसँग ।’ सबै आआफ्नै तालमा व्यस्त हुँदा कहिलेकाहीँ साथीको अभावले उनीहरूको घुम्ने रहरमा तगारो हालिदिन्छ । तैपनि, उनीहरू ह्याङआउटका लागि बाहिरिन्छन् । नयाँ साथी बनाउँछन् । सहरको सडक उनीहरूको साथीजस्तै भएको छ । घुम्न निस्कँदा कहिलेकाहीँ केटाहरूको  रयाकिङ पनि सहनुपर्छ रे ! ‘मुड कहाँ हुन्छ र सधैँ, ¥याक हान्दा त रिस उठिहाल्छ नि,’ केटीहरूको एउटै मत थियो ।
सहरको यो कचिङ्गलमा वेलाबखत उनीहरू आफ्नो शान्त गाउँलाई पनि निकै मिस गर्छन् । गाउँमा बिताएको स्कुल लाइफ सम्झन्छन् । सुमित्रालाई मम्मीबुबाको न्यास्रो पनि लाग्छ रे । आइरनगेट मानिने एसएलसीपछिको पढाइका लागि उनीहरू राजधानीसम्म आइपुगे । र, अब प्लस टु पनि सिध्याउनै लागेका छन् । क्याम्पस बुझ्दै यिनीहरूले ११ कक्षा सिध्याए । यससँगै १२ कक्षा पढिरहँदा उनीहरूले अलिअलि सहर पनि पढे । उनीहरू आफ्नो ‘प्लस टु लाइफ’प्रति खुसी नै छन् । रोशन भन्दै थिए, ‘सायद ब्याचलर पनि यतै हुन्छ कि ?’

प्रतिक्रिया