इरानी तेल बजार घटाउन अमेरिका गम्भीर

वासिङ्टन, १७ फागुन । इरानबाट तेल आयात कम गर्न अमेरिकाले एसिया तथा युरोपका विभिन्न राष्ट्रलाई दबाब दिइरहेका बेला यस्तो दबाबलाई अझ व्यापक बनाउने सङ्केत अमेरिकाले गरेको छ । इरानले विदेशी मुद्राको ठूलो अंश तेल निर्यातबाट आर्जन गर्दै आएको छ । इरानको तेल बजारलाई ठप्प पार्न सके इरानी सरकार सङ्कटमा पर्ने देखेपछि अमेरिकाले तेलमाथिको निर्भरता घटाउन एसिया तथा युरोपका राष्ट्रहरूलाई थप दबाब दिने सङ्केत गरेको हो ।
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले चीन, भारत र टर्कीको इरानी तेलमाथिको निर्भरता घटाउन ती राष्ट्रसाग अमेरिकाले ‘ज्यादै गहन र सिधा’ कुरा गरिरहेको बताएर यस्तो सङ्केत गरेकी हुन् । अमेरिकी कांग्रेसको एउटा समितिसामु मङ्गलबार विदेशमन्त्री क्लिन्टनले यस्तो बताएकी हुन् । इरानी तेलमाथिको निर्भरता घटाउने दिशामा ठोस कदम चाल्न अमेरिकाले ती राष्ट्रलाई दबाब दिइरहेको उनले बताइन् । अमेरिकी दबाब झेल्नु केही मुलुकका लागि ज्यादै कठिन हुने बताए पनि विदेशमन्त्री क्लिन्टनले त्यस्ता राष्ट्रहरूको नाम भने खुलाइनन् ।
‘इरानी तेलमाथिको निर्भरता घटाउन चीन, टर्की र भारतसाग गहन र सिधा कुरा भइरहेको छ । उनीहरूलाई केही कदम चाल्न हामीले सुझाएका छौं । हाम्रो सुझावअनुरूप काम गर्न उनीहरू सक्षम छन् र उनीहरूले यस्तो गर्नुपर्छ भन्ने हामीलाई लागेको छ,’ सिनेटर रोबर्ट मेनेन्डेजको प्रश्नको जवाफमा उनले भनिन् । इरानबाट तेल आयात नगरे ऊर्जा सङ्कट निम्तिने भय केही राष्ट्रमा रहेको उल्लेख गर्दै विदेशमन्त्री क्लिन्टनले अमेरिकी सुझाबअनुरूप काम गरे ऊर्जा सङ्कट समाधान हुने बताइन् । ‘हाम्रो अपेक्षा र हामीले सुझाएको मार्गका कारण इरानी तेलमाथि ती राष्ट्रको निर्भरतामा उल्लेख्य कमी आउनेछ भन्ने हाम्रो विश्वास छ । यस्तो निर्भरता घटाउने अवस्था सिर्जना गर्न हामी अन्य राष्ट्रसाग सशक्त रूपमा प्रस्तुत भइरहेका छौं,’ उनले भनिन् ।
इरानी तेलमाथि बढी नै निर्भर रहेका राष्ट्रका लागि इरानको विकल्प खोजिदिन अमेरिकाले सहयोग गर्ने उनले बताइन् । केही मुख्य तेल उत्पादक राष्ट्रले इरानी तेलमाथिको निर्भरता घटाएपछि पनि तेल सङ्कट आउन नदिने प्रतिबद्धता व्यक्त गरेको उनले बताइन् ।
इरानले परमाणु कार्यक्रम रोक्न नमानेपछि अमेरिकालगायत युरोपेली सङ्घमा आबद्ध राष्ट्रहरूले इरानमाथि विभिन्नखाले नाकाबन्दी लगाइसकेका छन् । उनीहरूको नाकाबन्दी इरानको वित्तीय तथा पारमाणविक गतिविधितर्फ लक्षित छ । यसबाहेक युरोपेली महासङ्घले इरानबाट तेल आयात नगर्ने घोषणा गरिसकेको छ । जापान, चीन, भारत, टर्कीजस्ता ठूला अर्थतन्त्रलाई समेत इरानी तेलमाथिको निर्भरता कम गर्न अमेरिकाले आग्रह गरिरहेको छ ।
इरानमा जारी युरेनियम प्रशोधन कार्य आम विनाशकारी परमाणु हतियार उत्पादन गर्नेतर्फ लक्ष्यित रहेको आरोप अमेरिकाले लगाउादै आएको छ । तर, इरानले भने ऊर्जा  आपूर्ति सुनिश्चित गर्नजस्तो शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम प्रशोधन कार्य जारी राखिएको प्रस्ट पार्दै आएको छ । -एजेन्सी)

प्रतिक्रिया