खोजखबर

चितवन र आनन्ददेव

सौर्य अनलाइन २०६८ फागुन १८ गते २:४० मा प्रकाशित

गोरो र होचो कदको चिटिक्क परेको शारीरिक व्यक्तित्व । वीरेन्द्र इन्टर कलेजको प्रिन्सिपल । सबैले भन्थे– ठूला विद्वान् हुन् आनन्ददेव भट्ट । अनि, कम्युनिस्ट हुन् ।
मैले पहिलोपटक भट्टलाई उनकै घरमा देखेको हुँ । चम्पानगरमा एउटा रात्रिकालीन भेटघाटमा भट्टलाई बोलाउने सल्लाह भयो । त्यसका लागि निम्तो गर्न उनीसँग नजिकको सम्बन्ध रहेका रविकिरणका साथ म पनि त्यहाँ पुगेको थिएँ । अहिलेको नारायणगढको सहिदचोकबाट लङ्कु जाने बाटोतिर बेलचोकमा भट्टजीको घर थियो ।
भट्टको व्यक्तित्वका थुप्रै पाटा उल्लेखनीय छन् । आर्थिक रूपमा सम्पन्न तर व्यवहारमा अत्यन्त सरल र मितव्ययी । गहिरो अध्ययन र विद्वत्ताको प्रतिमूर्ति । चम्पानगरको एकरातको बसाइमा मैले देखेको उहाँको व्यवहार निकै प्रेरणाप्रद थियो । साँझको खानामा उहाँलाई छुट्टै घिउभातको व्यवस्था गरिएको रहेछ । सायद सबैलाई पुग्दैनथ्यो । पस्कँदा नपस्कँदै उनले यो कुरा थाहा पाइहाले, छुट्टै खान मानेनन् ।
यहाँनेर उनले दुईटा विषयमा चर्को विद्रोह गरे । कोही कथित ठूलो मान्छे आयो भन्दैमा विशेष प्रकारको खाना खुवाउनुपर्ने सामन्तवादी चिन्तनविरुद्धको विद्रोह एउटा थियो भने एकसाथ खाना खान बसेकामध्ये एउटालाई विशेष र अरूलाई सामान्य गर्ने विभेदजन्य प्रवृत्तिप्रतिको विद्रोह दोस्रो थियो । घिउभात सबैले बाँडेर खाने सर्तमा उनले पनि सामान्य खाना खाए । बेलुका सुत्ने बेलामा पनि उनका लागि विशेष ओछ्यान व्यवस्था गरिएको रहेछ तर त्यहाँ पनि उनले विद्रोह गरे, समताको उदाहरण देखाए । धनसारको सामान्य ओछ्यानमा रात काट्ने अड्डी लिए ।
चितवन जिल्लामा वामपन्थी राजनीतिको विस्तार र प्रगतिवादी साहित्य सिर्जनामा उनको योगदान भुल्न चाहेर पनि भुलिने विषय होइन । भट्टको विचारमा कठोरता तथा स्वाभिमानीपन एवम् निर्भीकता पनि अर्को उल्लेखनीय जीवनदर्शनका रूपमा मैले पाएको छु । चितवनको कम्युनिस्ट आन्दोलनमा भट्ट, पुण्यप्रताप राणा, गुणबहादुर र रूपलाल विश्वकर्मा आदिको नाम अग्रपङ्क्तिमा आउँछ । पार्टीविभाजन भएर फरकफरक धारमा गए पनि प्रारम्भिक चरणमा चितवनको वामपन्थी राजनीतिमा भट्ट र राणाको व्यक्तित्व–स्पर्धा तथा विश्वकर्माको जातीय कुण्ठाका कारणले पनि केही दुःखद तथा प्रत्युत्पादक अवस्था प्रकट भए । यी सबै घटना परिघटनाका ज्युँदो सबुतका रूपमा स्वयम् भट्टजीलगायत नरबहादुर खाँड, खम्बासिंह कँुवर र लक्ष्मीभक्त उपाध्याय आदि छन् । राजनीतिकै सन्दर्भमा पनि भट्टजीमा पार्टी र पदको स्वार्थ देखिँदैनथ्यो । प्राध्यापन र प्रगतिवादी साहित्य साधनाबाटै व्यक्तित्व उठान गर्ने र कम्युनिस्ट पार्टीलाई आमूल परिवर्तनका लागि विस्तारित गर्नमा उनको कसरत इमानदार थियो ।
विसं २०२७÷०२८ तिर हुनुपर्छ, नेपाल–भारत व्यापार तथा पारवहन सन्धि नवीकरण भएन । केही विषयमा तात्कालिक सरकार र भारत सरकारबीच विमति प्रकट भयो । नेपालका विभिन्न ठाउँमा भारतविरोधी प्रदर्शन भए । यसै सन्दर्भमा सम्भवतः भट्टजीकै नेतृत्व वा सक्रियतामा एउटा ठूलो भारतविरोधी प्रदर्शन आयोजना गरियो । नारायणगढमा त्यसअघि त्यति ठूलो जन¥याली देखिएको थिएन । भट्टजीले त्यति बेला भारतआश्रित नेपाली राज्यप्रणाली अङ्गीकार गर्ने व्यवस्थाका हिमायतीलाई भविष्यमा स्वयम्को दुर्गति हुने ठोकुवा र चुनौती दिएका थिए ।
एकपटक वीरेन्द्र कलेजमा युनियनको चुनावको सन्दर्भमा अनेरास्ववियु र नेविसङ्घबीच हात हालाहाल भयो । ठूलै मारपिटपछि अखिल पक्षका थुप्रै घाइते भई अस्पताल पु¥याइए । भट्टजीमाथि पनि हातपात गर्ने हल्ला चल्यो । तर, भट्टजी निर्भयतापूर्वक नेविसङ्घको भिडमा छिरेर चुनौतीका साथै संयमताको सन्देश दिन थाल्नुभयो । नेविसङ्घ पक्षका कुट्ने, पिट्ने भन्नेहरू स्वयम्लाई ग्लानि भयो र चुपचाप बसे, टाढाबाट हेर्ने अखिल पक्षचाहिँ आश्चर्यचकित भएर निर्भीकता र निर्भयताको बखान गर्न थाल्यो । एकपटक भेटेर कुराकानी भएपछि प्रभावित तुल्याइछाड्ने थोरै मात्र मानिसमा हुने प्रभावशाली क्षमता मैले आफ्नो जीवनमा भेटेका व्यक्तित्वमध्ये बिपी कोइरालापछि भट्टजीमा मात्र पाएको छु ।
एउटा गज्जबको संयोग । २०६५ सालमा नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेमा उहाँसँगै मेरो नाम पनि थियो । भानुजयन्तीका दिन हामी दुवैले सँगसँगै पुरस्कार थाप्यौँ । उहाँले एक लाख रुपियाँ धनराशिसहितको पुरस्कार रकमको चेक सोही समारोहमा नै प्रगतिशील लेखक सङ्घका लागि प्रदान गरेर संस्थागत विकासमा आफ्नो गहिरो लगाब र अभिरुचिसँगै उदारताको थप परिचय दिनुभयो । बधाईको भिडमा पनि उहाँको शालीनता उस्तै थियो, पुरस्कार प्राप्तिमा कुनै अहम् थिएन । बरु मचाहिँ उमेरले पिता बराबरको र आदर्शले अत्यन्त सम्मान गरिएको व्यक्तिसँगै बसेर राज्यका तर्फबाट पुरस्कार पाउँदा औधी हर्षित थिएँ ।
अधिकांशतः गोर्खा, लम्जुङ, तनहुँ, धादिङ आदि ठाउँका विपन्न परिवार झरेर बसोबास गरेको चितवनमा तात्कालिक अवस्थामै वीरेन्द्र इन्टर कलेजको स्थापना र प्रिन्सिपलका रूपमा भट्टको भूमिका ओजपूर्ण छ । भट्ट नामको पश्चिम नेपालबाट उदाएको एउटा सानो सूर्यले चितवनलाई ततायो र पूर्वतर्फ लागेर देश र जनताका लागि केही न केही गरिरह्यो । चितवनलाई बिर्सिएन, सम्झिरह्यो । त्यसै गरी, भट्टलाई चितवनले बिर्सियो र यथोचित माया गरिरहन सकेन भने चितवनको माटाले त्यहाँका वामबुद्धिजीवीलाई पक्कै पनि क्षमा दिनेछैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय