पर्यटन क्षेत्रमा ग्रहण

नेपाल प्राकृतिक रूपले विश्वमै सुन्दर मुलुकको सूचीमा पर्छ । यसलाई पर्यटकीय दृष्टिले सहज, सुगम र भयरहित देश भनेर चिनिन्थ्यो । माओवादीले सशस्त्र द्वन्द्वको थालनी गरेपछि पश्चिमाहरूले यस मुलुकलाई पर्यटकीय हिसाबले अति जोखिमपूर्ण देशको सूचीमा दर्ज गरे । शान्ति सम्झौतापछि त्यस अवस्थामा केही सुधार भएको थियो । तर, अहिले आएर फेरि पुरानो मित्रराष्ट्र बेलायतलगायत विभिन्न मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सचेत हुन आग्रह गरेका छन् । यो नेपाल राष्ट्रका लागि दुःखद् विषय हो ।
भर्खरै समाप्त भएको पर्यटन वर्ष २०११ र घोषणा गरिएको लुम्बिनी भ्रमण वर्षको सङ्घारमा आएर फेरि विदेशीले नेपालमा असुरक्षा महसुस गर्न थालेका छन् । यसले नेपाल भित्रिने सम्पूर्ण पर्यटकलाई भयभीत बनाएको छ । अर्थ सङ्कलनको मेरुदण्डका रूपमा रहेको पर्यटन व्यवसायमा आच आउनु  नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नु हो । विदेशीहरू आफ्ना नागरिकप्रति बढी संवेदनशील हुन्छन् । उनीहरूलाई सानो घटनाले पनि भयभीत बनाउछ । जबसम्म नेपाल सरकारले विदेशी पर्यटक सुरक्षित छन् भनेर प्रमाणित गर्न सक्दैन तबसम्म उनीहरू आश्वस्त हुदैनन् । यसले पर्यटक आगमनमा बाधा पुराउछ र हाम्रो आर्थिक विकासमा नकारात्मक प्रभाव पार्छ ।
बेलायतले नेपालको राजनीतिक अवस्था अत्यन्त अस्थिर रहेको, बारम्बार बन्द, हडताल, विरोध, ¥याली र प्रदर्शन हुने गरेकाले आफ्ना नागरिकलाई सचेत गराउनुपरेको उल्लेख गरेको छ । बेलायतको यो आग्रहले विदेशी पर्यटकमा मनोवैज्ञानिक दबाब सिर्जना गर्छ । र ती पर्यटक नेपालप्रति नकारात्मक धारणा बनाउन बाध्य हुन्छन्, जसले गर्दा नेपाल आएर प्रशस्त खर्च गर्नसक्ने पर्यटकहरू घुम्नका लागि अन्य मुलुक रोज्न बाध्य हुन्छन् । यसले नेपाल भित्रिने पैसा अन्यत्र जाने मात्र होइन, विश्वमा हिमाली सुन्दर मुलुक नेपालको छवि पनि धुमिल हुन्छ ।
२०५३ सालपछि शान्त भूमि नेपालमा अनेक वितण्डा मच्चाइए । लुटपाट, अपहरण, चन्दा असुली, फिरौती, साना हतियारको बिगबिगी, विदेशी पर्यटकमाथि घातक हमला, सुरक्षित ठानिएका स्थानमा दिनदहाडै बम विस्फोटजस्ता अनेक घटनाले पर्यटकलाई त्रस्त बनाउने काम भयो । नेपाल सरकारले कुनै पनि क्षेत्रमा शान्तिसुरक्षाको प्रत्याभूति दिन सकेन । सुशासन कायम गर्न नसक्दाको परिणाम अपराधी, अराजक समूहहरू बढ्दै गए । काठमाडौका अति संवेदनशील स्थानसमेत सुरक्षित रहेनन् । जसको अध्ययन गरिरहेका विदेशी स्वाभाविक रूपले भयभीत बने । यसले गर्दा हाम्रो पर्यटकीय क्षेत्रमा अविश्वास फैलियो र हाम्रो अर्थतन्त्रको एउटा पाटो भत्किने अवस्थामा पुग्यो ।
यस्ता गम्भीर प्रकृतिका विषयमा सरकार सचेत भएर मुलुकमा शान्तिसुरक्षा कायम गर्नुपर्यो । सबैलाई सुरक्षाको प्रत्याभूति दिनुपर्यो । नेपाल घुम्न आउने सम्पूर्ण पर्यटकलाई आफू सुरक्षित छु भन्ने महसुस हुने वातावरण सरकारले निर्माण गर्नुपर्यो । त्यसो गरिएन भने हाम्रो पर्यटन क्षेत्र तहसनहस हुनेछ । यस्तो हुन नदिन सरोकारवाला सबै सचेत बन्नैपर्छ ।

प्रतिक्रिया