कांग्रेस भ्रातृसङ्गठनको केन्द्रीय समिति अझै बनेन

काठमाडौँ, १७ फागुन । सात दिनभित्र भ्रातृ सङ्गठनको केन्द्रीय समिति गठन गरिसक्ने नेपाली कांग्रेसका नेताहरूले दाबी गरेको एक महिना बित्दा समेत समिति गठन भएको छैन । सङ्गठनका प्रमुखहरूलाई नै आफूले नेतृत्व गरेको सङ्गठनको केन्द्रीय समिति कहिले गठन हुन्छ भन्ने पत्तो छैन ।
नेपाल तरुण दलका अध्यक्ष उदयशम्शेर राणाले पार्टीका शीर्ष नेताहरूको आपसी सहमतिमा समिति गठन हुने उल्लेख गर्दै आफूलाई त्यस विषयमा जानकारी नभएको बताए । ‘सभापति र वरिष्ठ नेताको सहमतिमा केन्द्रीय समिति गठन हुन्छ,’ उनले भने, ‘एक÷दुई दिनमा समिति गठन हुन सक्छ ।’
पदावधि सकिएका भ्रातृ सङ्गठनलाई ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न भनिए पनि अहिलेसम्म समिति गठन भएको छैन । माउ पार्टी कांग्रेसका नेतापिच्छे समितिमा सहभागी गराउने व्यक्तिहरूको लामो सूूची लिएर बसेकाले समिति गठन हुन नसकेको स्रोतको दाबी छ । सहमतिमा सात भ्रातृसङ्गठनका प्रमुख तोक्दा नै केन्द्रीय समितिमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका बराबरी सदस्य राख्ने गरी भागबन्डा गरिएको थियो ।
सभापति कोइराला पक्षका  उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य बलबहादुर केसी सहित आधा दर्जन नेताले आआफ्नोअनुकूल सूची तयार गरेको एक नेताले दाबी गरे । नेताहरूले आफ्नो अनुकूलका व्यक्तिको नाम प्रस्तुत गरेपछि सभापति कोइरालाले केन्द्रीय सदस्य डा शशाङ्क कोइराला र आनन्दप्रसाद ढुङ्गानालाई नाम टुङ्गो लगाउने जिम्मा दिएको एक नेताले जानकारी दिए । उनीहरूले शुक्रबारसम्म समिति गठन गर्ने गरी नाम छनोट सुरु गरेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
नेपाल महिला सङ्घका अध्यक्ष डा डिला सङ्ग्रौलाले दुई÷तीन दिनमा भ्रातृ सङ्गठनको केन्द्रीय समिति गठन हुने बताइन् । उनले भनिन््, ‘बढीमा तीन दिनभित्र समिति गठन हुन्छ होला ।’
स्रोतका अनुसार वरिष्ठ नेता देउवा पक्षले भने केही दिनअघि पार्टीका पूर्वमहामन्त्री विमलेन्द्र निधिको निवासमा नेपाल विद्यार्थी सङ्घका पूर्वनेताहरूको भेला गरी भ्रातृ सङ्गठनको केन्द्रीय समितिमा सहभागी गराउने व्यक्तिको नाम टुङ्गो लगाएको छ । देउवा पक्षले नेपाल विद्यार्थी सङ्घमा ऋषिकेशजङ्ग शाहको नेतृत्वमा २३ जनाको नाम तय गरेको स्रोतको दाबी छ ।
सभापति पक्षबाट २३ का साथै अध्यक्षलाई चारजना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिइने भएको छ । सङ्घको केन्द्रीय समिति ५१ जनाको हुनेछ । तर, महिला सङ्घ र नेपाल तरुण दलको केन्द्रीय समिति भने ३१ जनाको मात्र हुनेछ ।
पाँच महिना लामो आन्तरिक विवादपछि २२ माघमा नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल, आदिवासी जनजाति सङ्घ, प्रजातान्त्रिक सेनानी सङ्घ, नेपाल मगर सङ्घ र नेपाल किसान सङ्घको सहमतिमा पार्टी नेतृत्वले प्रमुखहरूको नाम तोकेको थियो ।  भ्रातृसङ्गठनका प्रमुखहरूको नाम सहमतिमा टुङ्गो लगाएपछि नेताहरूले माघ मसान्तभित्र सबै भ्रातृसङ्गठनका केन्द्रीय समितिले पूर्णता पाउने दाबी गरेका थिए ।

प्रतिक्रिया