केटाको शरीरभित्र केटीको बास !

लन्डन, ११ फागुन । एउटाको शरीरमा अर्कैको आत्माले बास गरेको दन्त्यकथामा सुन्न पाइन्छ । साँच्चै यस्तो घटना भएको सुन्नुभयो भने के तपाईंलाई पत्यार लाग्छ ? तर, बेलायतमा यस्तै अनौठो घटना भएको छ ।
बेलायतका एक बालकले आफूलाई केटाको शरीरभित्र कैद भएकी केटी बताएर सबैलाई चकित बनाएका छन् । यसले उनलाई असामान्य लैङ्गिक अवस्था भएको सम्भवतः विश्वकै कान्छो व्यक्ति बनाएको छ ।
ज्याक एभरी नाम गरेका ती बालकले तीन वर्षको उमेरदेखि केटीको स्वभाव देखाउन थालेका थिए । गुलाबी रङको लुगा लगाउनु, रिबनले कपाल बाँध्नु, बालिकाहरूमाझ लोकप्रिय टेलिशृङ्खला हेर्नु उनको सोख थियो ।
छोरोको यस्तो चाला देखेर हैरान भएका आमाबाबुले डाक्टरको सल्लाह लिए । लामो अध्ययनपछि डाक्टरहरूले ती बालक असामान्य लैङ्गिक अवस्थाबाट गुज्रिरहेको निष्कर्ष निकाले । त्यसपछि उनलाई केटीको जस्तो व्यवहार गर्न थालियो । अहिले पाँच वर्ष पुगेका ज्याकलाई पहिलोपटक डाक्टरकहाँ लैजाँदा उनी चार वर्षका थिए । एक वर्षयता डाक्टरको सल्लाहमा उनलाई घर र विद्यालय सबैतिर केटीकै रूपमा व्यवहार गरिँदै आइएको छ । केटी भएर बाँच्न पाउँदा ज्याक पनि असाध्यै खुसी भएका छन् ।
आमा टेरेसा एभरीका अनुसार सुरुमा छोराको स्वभाव अरू बालकको जस्तै सामान्य थियो । सन् २०१० को अन्त्यदेखि भने उनले केटीको जस्तो स्वभाव देखाउन थाले । ‘ऊ त्यतिवेला तीन वर्षको थियो । एक दिन ऊ मेरो नजिक आयो र ‘मम्मी ! म त केटी हुँ’ भन्यो,’ उनले सम्झिन् । त्यसपछि उसको स्वभावमा ठूलै परिवर्तन आएको उनी बताउँछिन् । ‘त्यस दिनदेखि उसलाई कसैले केटो भन्यो भने दुःखमनाउ गर्न थाल्यो । रुने, कराउने र लिङ्ग काटेर मिल्काउन खोज्नेजस्ता असामान्य व्यवहार देखाउन थाल्यो ।’
छोराको यस्तो चाला देखेपछि आमाबाबुले उपचारका लागि उनलाई लन्डनस्थित मानसिक अस्पताल लगे । महिनौँको अध्ययन–अनुसन्धानपछि डाक्टरले उनमा असामान्य लैङ्गिक अवस्था रहेको निष्कर्ष निकाले । यस्तो समस्याबाट ग्रस्त व्यक्तिलाई ‘आपूm अर्कै लिङ्गको हुँ’ भन्ने विश्वास हुन्छ । उनीहरूको शरीर केटाको हुन्छ तर उनीहरू स्वयंलाई भने केटी हुँ जस्तो लाग्छ ।
आफूलाई केटीका रूपमा स्वीकार गरिएको थाहा पाएपछि ज्याक असाध्यै खुसी भए । त्यसयता विद्यालयमा उनका लागि छुट्टै शौचालयको व्यवस्था गरिएको छ । ‘कक्षामा पनि उसलाई केटीलाई जस्तै व्यवहार गर्न थालिएको छ । ऊ मख्ख परेको छ,’ आमा टेरेसाले भनिन् ।
विद्यालय जाँदा उसका लागि केटा र केटी दुवैले लगाउन मिल्ने पहिरनको व्यवस्था मिलाइएको छ । उसको कोठा पनि केटीको जस्तै सिँगारिएको छ । ‘दिदीका पुराना खेलौना खेल्दा ऊ असाध्यै रमाउँछ, तर दाजुहरूसँग खेल्दासमेत रमाउने गरेको हामीले देखेका छौँ,’ उनले भनिन् ।
उसको कोठामा केटा र केटी दुवैले लगाउन मिल्ने कपडा राखिदिएको उल्लेख गर्दै आमा टेरेसाले भनिन्, ‘उसले आफ्नो जीवनबारे आफै निर्णय गरोस् । यदि उसको मन फर्कियो र पुनः केटा हुन चाह््यो भने ठीकै छ । केटी बन्ने चाहना उसले त्यागेन भने पनि हाम्रो भन्नु केही छैन ।’
यद्यपि, ऊ छोरा नै भइदियोस् भन्ने आफ्नो भित्री इच्छा रहेको उनले लुकाइनन् । ‘उसलाई छोराका रूपमा देख्ने मेरो चाहना छ, तैपनि हामी उसको खुसी चाहन्छौँ । उसलाई जे गर्दा खुसी लाग्छ, गरोस् । उसलाई हाम्रो पूर्ण साथ रहनेछ,’ उनले भनिन् । (डेलिमेल)

प्रतिक्रिया