पत्रकारतर्फ रेखाको चोरऔलो

काठमाडौं, ११ फागुन । नायक भुवन केसीको उमेर कति ? नायिका रेखा थापाले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भुवनबारे बोल्ने क्रममा भनेको कुरालाई आधार मान्ने हो भने उनी कम्तीमा तीन सय वर्षका भइसकेका छन् ।
प्रसङ्ग हो, चलचित्र साथी म तिम्रोको पत्रकार भेटघाट कार्यक्रमको । प्रमुख अतिथि बनाइएका बालकलाकार शीर्षक सापकोटासहित नायक भुवन, उनका छोरा अनमोल, पत्रकार विजयरत्न तुलाधरका साथमा नायिका रेखा थापा पनि ड्यासमा थिइन् । उद्घोषक नरेश भट्टराईले भुवनको उमेरको चर्चासँगै चलचित्रमा संलग्नताबारे जानकारी गराउँदै नायिका रेखालाई मन्तव्यका लागि आग्रह गरे । कालो र सेतो टिके ड्रेसमा उपस्थित भएकी रेखाले मन्तव्य सुरु गरिन् र भन्न थालिन्– ‘नायक भुवन केसीले चलचित्र क्षेत्रमा दुई–तीन ‘शताब्दी’ बिताइसक्नुभएको छ ।’ उनले यति के भनेकी थिइन्, उपस्थित दर्शकदीर्घाबाट हाँसोको पर्रा छुट्यो । आफ्नो अभिव्यक्तिमाथि यसरी हाँसेको देखेपछि उनले पत्रकार बसेको रोतर्फ औला ठड्याइन्– हाँस्न बन्द गर्नूस् । उक्त रोमा थिए– वरिष्ठ पत्रकार शान्तिप्रियका साथमा सुशील पौडेल, सन्तोष रिमाल, सञ्जीव सापकोटालगायत  ।
रेखाले चुप लाग्न सङ्केत गर्दै औँलो ठड्याएपछि सञ्जीवले उनलाई भुवनबारे बोलेको ‘शताब्दी’ शब्द सच्याउन आग्रह गरे । भनाइ सच्याउनु त कता हो, झन् आक्रोशित भइन् उनी– पख्नूस्, पछि कुरा गरौँला । त्यसपछि उनी प्रवेश गरिन् साथी म तिम्रोको प्रसङ्गमा । चलचित्र निकै राम्रो रहेको बताउँदै भनिन्– ‘भुवन दाइसँग काम गर्दा चलचित्र निर्माण गर्ने केही तरिका पनि आफूले सिकेँ ।’
नायक भुवन केसीले आफूले यस अगाडि निर्माण गरेका अन्य चलचित्रभन्दा यो राम्रो भएको बताउँदै अब आफूले चलचित्र निर्देशन गर्ने घोषणा गरे । हाल स्क्रिप्टको काम भइरहेको उक्त चलचित्रको हिरो आफ्नै  छोरा रहने उनले खुलाए ।


कार्यक्रममा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरले भुवनसँगका आफ्ना अनुभव सुनाए भने प्रमुख अतिथि तथा चलचित्रका बालकलाकार सापकोटाले साथी म तिम्रोको गीत गाएर सुनाए ।
कार्यक्रममा चलचित्रका गीत तथा मिडिया प्रमोसनका लागि तयार पारिएका  प्रोमोहरू देखाइएको थियो । काजोल फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र
साथी म तिम्रो यही १९ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रमा भुवन केसी, रेखा थापा, अनमोल केसी, शीर्षक सापकोटालगायत कलाकारको प्रमुख भूमिका रहेको छ । शिव रेग्मीको निर्देशनमा रहेको चलचित्रमा सङ्गीत शम्भुजित बास्कोटा, द्वन्द्व राजेन्द्र खड्गी, नृत्य कविराज गहतराजको छ ।

प्रतिक्रिया