पशुपति दर्शन

शिवरात्रिको महान् पर्व । म पनि पशुपतिनाथको दर्शन गरेर पाप पोखौँला भनी नाङ्गो खुट्टाले बाबाको धामतिर लम्किएँ । आज बूढालाई नभेटी छाड्दिन भन्ने बलियो अठोटका साथ पशुपति क्षेत्रतिर म हानिएँ ।
बाटामा एक विशालकाय जोगी, जटाजुटधारी भयङ्कर त्रिशूलधारी देखा परे । म त भित्रभित्रै तर्सिएँ । छिमेकी मुलुकबाट शिवरात्रिको मौका छोपी गाँजाको तस्करी गर्ने कुनै तस्कर पो हो कि ? नक्कली नोटको कारोबार गर्ने नक्कली जोगी पो हो कि ? यस्ता अनेक तर्कनाले मलाई थकाइ रहेकै बेलामा ती बाबाले सोधे, ‘हे वृद्ध बालक । म हुँ जगत्को पालक । यो निर्धो ज्यान लिएर तिमी पशुपतिनाथको दर्शन गर्न हिँडेका हौ कि कसो ? नेपालीे नयाँ संविधान बन्ने कुरामा आश मारेजस्तै आज पशुपति परिसरमा घन्टौँ उभिएर दर्शन गर्न तिमी सक्दैनौ । बरु तिमी यता मेरो छेउमा आएर बस र बाबाको प्रसाद चिलिम तयार पार ।’ बाबाले मेरो हातमा गाँजा र चिलिम हालिदिए ।
मैले प्रतिवाद गरेँ, बाबा, यसरी गाँजा खानु, ख्वाउनु, बेचबिखन गर्नु सबै अपराध हुन् । तपाईंजस्तो साधु सन्तले त नशा सेवनको विरोध पो गर्नुपथ्र्यो त । उल्टो … ।
बाबा बम्किए, तिमी देशको एक शिक्षित नागरिक प¥यौ । त्यसैले यस्ता फाल्तु कुराहरूमा विश्वास गर्छौ । हालसालै एकजना पूर्वमन्त्री र एकजना बहालवाला मन्त्री भ्रष्टाचार र अपहरण काण्डमा गुप्त रूपले मुछिएको फेला परेपछि जेल चलान भए । यहाँ भ्रष्टाचार नगर्ने को छ र ? पशुपतिनाथकै पवित्र मन्दिरमा अपवित्र काम कति हुन्छन् कति, तिमीलाई के था ? करोडौँको आम्दानीलाई दुई÷चार लाख मात्र देखाइन्छ । प्रहरी र तस्करको मिलेमतोमा रक्तचन्दन सुदूर भारतबाट आएर सुदूर उत्तरको भूभागमा पुग्छ । रक्षक हुनुपर्ने डिआइजी आफ्नै बूढीलाई काटकुट पारेर जङ्गलमा लगेर सेकुवा बनाउँछन् । सुडान काण्डमा भएको भयङ्कर भ्रष्टाचारले प्रहरीको शिर अब कहिल्यै ठाडो हुन पाउला ?
बाबाले सास फेर्नलाई एकै छिन विश्राम लिए, अनि मलाई तिरस्कारपूर्वक हेर्दै मेरो हातबाट चिलिम र गाँजा खोसेर लिए । अनि फेरि फलाक्न थाले, गाँजाको तस्करीले गर्दा कैयौँ प्रहरी धनी भए । राम्रो ठाउँमा सरुवा मिलाइदिनुप¥यो भनेर हालसालै निजामती कर्मचारीहरूले संस्थागत रूपमै सिंहदरबार थर्काए । यसतो अवस्थामा यदि कुनै नेपालीले नियम, कानुन र आदेशको फुर्ती–फार्ती लाउँछ भने त्यो जस्तो बज्रस्वाँठ अरु को होला त ?
मैले नम्रताका साथ प्रतिवाद गरेँ, बाबा हजुरहरू जस्ता ज्ञानी साधुसन्तले पनि के अब भ्रष्टाचारलाई नै प्रोत्साहन दिने त ? त्यसो भए साँच्चिकै कलियुग आएछ भन्ने कुरो म जस्तो मूढमतिले बुझे भयो त ? बाबाले अबको पालो अट्टहास नै गरे । अनि फेरि शान्त भएर भने बच्चा, चिन्ता नगर । मैले त तिमीलाई जाँचेको मात्रै हो । समाजमा इमान्दारी पनि थोरबहुत बाँकी छ । चिन्ता नगर । ‘सत्यमेव जयते’ भन्ने कुरा सम्झना राखे ।
यति भनेर गाँजाको सर्को तानेर बाबाले एउटा ज्वाला नै त्यहाँ प्रज्वलित गरे । मैले नाक, मुख, आँखा खुम्च्याउँदै अलि पर सर्दै आँखा चिम्लेँ । एकै छिनपछि हेर्छु त बाबा अलपत्र । साँच्चै ती पशुपतिनाथ नै थिए कि ?

प्रतिक्रिया