लुम्बिनी टुक्राउन पाईदैन

अमृत गिरी,
रुपन्देही, १० फागुन । राज्यपुनर्संरचना गर्दा लुम्बिनी अञ्चललाई नटुक्राउन लुम्बिनीवासीले आग्रह गरेका छन् । रुपन्देहीका विभिन्न संघसंस्था तथा अगुवाहरुले एमाले अध्यक्ष झलनाथ खनाललाई भेटेर लुम्बिनी अञ्चल विभाजन नगर्न आग्रह गरेका हुन् । उनीहरुले लुम्बिनी अञ्चलका ६ वटै जिल्लालाई समेटेर लुम्बिनी प्रदेश बनाउन सुझाब दिएका छन् ।
‘लुम्बिनी प्रदेशका लागि नागरिक अभियान’ नामक सञ्जाल बनाएर लुम्बिनीका सरोकारवालाहरुले अञ्चल विभाजित नगर्न आग्रह गरेका हुन् । राज्य पुनःसंरचना सुझाव आयोगवाट हालै प्रस्तुत प्रतिवेदनले गरेको नामाकरण अनुसार ऐतिहासिक लुम्बिनीको नाम नै निमिट्यान्न पारेर अवध प्रदेश बनाउन प्रस्ताव गरिएको भन्दै स्थानीयले तीव्र विरोध गरेका छन् । ऐतिहासिक, पुरातात्विक, र सांस्कृतिक सम्पदाको हिसाबले विश्वको गौरव महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीका बासिन्दालाई अबधमा मात्र सीमित नगर्न उनीहरुले आग्रह छ ।
लुम्बिनी प्रदेशको रुपमा नामाकरण गर्न अनुरोध र दवाव दिनुका साथै हाम्रो एकीकृत अभियानः लुम्बिनीको सार्थक पहिचान भन्ने उद्घोषका साथ लुम्बिनी अञ्चललाई नटुक्राई प्रदेशको व्यवस्था गरियोस् भन्दै ज्ञापनपत्र बुझाएको अभियानका सदस्य डीआर घिमिरेले बताए । रुपन्देहीका करिब ३५ भन्दा वढी संघ संस्थाले लुम्बिनी नटुक्राउन माग गर्दै सामूहिक रुपमा अभियान थालिसकेका छन् ।

प्रतिक्रिया