प्रकाशकीय

आजदेखि सौर्य दैनिकको नियमित प्रकाशन सुरु भएको छ । चर्को प्रतिस्पर्धा र सीमित बजारमा एउटा अर्को अखबार थप्नुको उद्देश्य के होला भन्ने प्रश्न हाम्रा पाठक तथा शुभचिन्तकहरूको मनमा उब्जनु अस्वाभाविक पनि होइन ।
नेपाली सञ्चार उद्योगको वर्तमान अवस्था र प्रवृत्तिले पनि त्यस्तो प्रश्न उब्जनु जायज नै हो । तर, सौर्य दैनिकको प्रकाशनको पृष्ठभूमि, उद्देश्य र आशय नितान्त फरक छ । यो दैनिक सहकारी आन्दोलनको उपज हो र सधैँ रहिरहने छ । स्वामित्वमा सहकारी र प्रस्तुतिमा व्यावसायिक हुँदै यस दैनिकले लोकतान्त्रिक गणतन्त्रको सेवा गर्नेछ, समावेशी नेपाललाई मलजल गर्ने छ । विशुद्ध व्यावसायिक पत्रकारहरुको स्वतन्त्र चेत र व्यावसायिक कार्यशैलीको सम्मिश्रण नै यस दैनिकको प्राणवायु हो । हामी राष्ट्रका मात्रै सेवक हौँ । सुशासन हाम्रो चाहना हो भने पारदर्शी समाज परिकल्पना । यही चाहना र परिकल्पनाको आकाशमा उडिरहने छ, सौर्य दैनिक ।
सौर्य सञ्चार सहकारी संस्थाको पहलमा प्रकाशन प्रारम्भ यस दैनिकको स्थापनाका लागि योगदान गर्नुहुने सबै सेयरहोल्डर, सहयोगी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त नगरी रहन सकिन्न । यस दैनिकलाई दीर्घजीवी बनाउने अभियानमा संलग्न सञ्चारकर्मी तथा कर्मचारीहरूलाई पनि धन्यवाद दिनैपर्छ । साथै, सौर्य दैनिकलाई नेपाली सञ्चार उद्योगको अङ्गका रूपमा स्थापित गर्ने हाम्रो होस्टेमा हैँसे गरिदिन समस्त पाठक, विज्ञापनदाता तथा शुभचिन्तकलाई हार्दिक अनुरोध पनि गर्दछौँ ।

प्रतिक्रिया