ब्रा नलगाई विरोध गर्दा…

किभ, ९ फागुन । युक्रेनस्थित भारतीय राजदूतको निवासमा युक्रेनी महिलाले ब्रा नलगाई विरोध प्रदर्शन गरेको घटना कानुनी दायराभित्र परेको छ । युक्रेनमा महिला अधिकारका लागि अभियान चलाउँदै आएको एउटा संस्थामा आबद्ध महिलाहरूले भारतको विदेश मन्त्रालयले युक्रेनी महिलालाई होच्याएको भन्दै विरोधमा १८ जनवरीमा ब्रा नलगाइकनै राजदूत निवासको छतमा चढेर प्रदर्शन गरेका थिए ।
भारतमा युक्रेन, किर्गिस्तान र रुसका महिलाले वेश्यावृत्ति गर्ने क्रम बढेकाले ती देशका १८ देखि ४० वर्ष उमेर समूहका महिलालाई भारतको प्रवेशाज्ञा दिँदा कडाइ गर्न भारतीय विदेश मन्त्रालयले निर्देशन दिएको समाचार प्रकाशन भएपछि युक्रेनमा रहेको फिमेन नामक समूहले प्रदर्शन गरेको हो । भारतीय विदेश मन्त्रालयले त्यस्तो निर्देशन दिएर युक्रेनका सम्पूर्ण महिलाको अपमान गरेको आरोप फिमेनले लगाएको छ ।
शून्यदेखि चार डिग्री तापक्रमको चिसोमा उनीहरूले ब्रा फुकालेर प्रदर्शन गरेका थिए । लिस्नो लिएर भारतीय राजदूतको
निवास पुगेका उनीहरूले छतमा चढेर भारतको झन्डा र ‘म वेश्या होइन’, ‘युक्रेन वेश्यालय होइन’ आदि लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागीविरुद्ध भारतको राष्ट्रिय झन्डाको अपमान गरेको आरोप लगाउँदै मुद्दा दर्ता गराइएको छ । आरोप पुष्टि भए युक्रेनको कानुनअनुसार दोषीलाई चार वर्षसम्मको सजाय मिल्नेछ ।
कानुनी प्रक्रिया अघि बढाइएपछि फिमेनकी प्रवक्ता सेवचेन्कोले ब्रा नलगाई प्रदर्शन गर्नु अपराध नभएको बताइन् । ‘हामीले मात्रै हो र ? संसारका अन्य ठाउँमा पनि मानिसको ध्यानाकर्षण गर्न यस्ता प्रदर्शन हुने गरेका छन् । तर, अहिलेसम्म उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको सुनिएको छैन,’ उनले भनिन् ।
(बिबिसीको सहयोगमा)

प्रतिक्रिया