मन्त्री यादवको दबाबमा सरुवा प्रतिवेदन बन्दै

रामहरि पाण्डे, काठमाडौं, ९ फागुन । सामान्य प्रशासनमन्त्री रामकुमार यादवले कर्मचारी सरुवासम्बन्धी निर्णय सदर हुने गरी प्रतिवेदन तयार गर्न छानबिन समितिलाई निर्देशन दिएका छन् । मन्त्री यादवले सोमबार छानबिन समितिका संयोजक एवं मन्त्रालयका सचिव तिलकराम शर्मालाई निवासमै बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
समितिका एक सदस्यका अनुसार मन्त्री यादवको निर्देशनअनुरूप नै प्रतिवेदन तयार पार्ने कामसमेत भइरहेको छ । मङ्गलबार ती सदस्यले सौर्यसँग भने, ‘मन्त्रीको निर्देशनअनुसार छानबिन प्रतिवेदन तयार पार्ने कार्य भइरहेको छ ।’ सरकारले गत बिहीबार सचिव शर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।
सचिव शर्माले भने प्रतिवेदन तयारीमा आफूलाई कसैले हप्तक्षेप नगरेको दाबी गरे । उनले भने, ‘विवादित विषयको टुङ्गो लगाउन सम्बन्धित मन्त्री तथा मातहतका कर्मचारीसँग छलफल गर्न सकिन्छ, त्यसलाई निर्देशन भन्न मिल्दैन ।’ सरुवाका क्रममा देखिएका केही त्रुटिका बारेमा छानबिन भइरहेको भन्दै उनले त्यसबारे अहिले नै केही भन्न नमिल्ने बताए । उनले भने, ‘हामी बिहीबारसम्ममा यसको टुङ्गो लगाएर सरकारलाई प्रतिवेदन बुझाउँछौँ ।’
निजामती सेवा ऐनअनुसार कर्मचारी सरुवा बदर वा सदर गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ । समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले बदर वा सदरको निर्णय गर्नेछ । मन्त्रालयले १ फागुनमा तीन हजार दुई सय कर्मचारीको सरुवाको निर्णय गरेको थियो ।

प्रतिक्रिया