छैटौं खेल आयोजकले लागत खर्चको सुचना दिन मानेन

दीपक ओली, कैलाली, ८ फागुन । छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विनियोजित रकमको विवरण र भौतिक पूर्वाधार निर्माणको स्टमेट (अनुमानित लागत खर्च) खेल आयोजकले उपलब्ध नगराएकोमा सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।
यसरी आफूले मागेको आर्थिक तथा अन्य विवरण आयोजकले नदिएपछि ठूलो मात्रामा रकम हिनामिना भएको हुनसक्ने उनीहरुको आशंका छ । आयोजकसँग पटकपटक पूर्वाधार र खेलकुदमा छुट्ट्याइएको रकम र स्टमेट दिन आनाकानी गरेको कैलाली क्रिकेट संघका उपाध्यक्ष हरि रेग्मीले बताए ।
धनगढीस्थित छैटौं खेलकुद प्रतियोगिता तयारी सचिवालयका पदाधिकारीहरुसँग पूर्वाधार निर्माणको वास्तविक लागत खर्च माग्दा, ‘कहिले भोली दिन्छु त कहिले ठेकेदार र प्राविधिकसँग माग्नु भनेर पन्छिन्छन् ।’ रेग्मीले बताए ।
‘आयोजकले सम्पूर्ण कुरा पारदर्शी गरी सबैलाई समेटेर लैजानु पर्नेमा उल्टै खेलाडी र खेलप्रेमीको मनमा आशंका उब्जाउने काम गरेको छ’, उनले भने । त्यस्तै खेल आयोजकले कसैको मतलब नराखिकनै एकलौटी रुपमा हचुवाको भरमा काम गरिरहेको यहाँका खेलाडी एवम् खेलप्रेमीहरुको गुनासो छ ।
उता, मिडियाका लागि छुट्ट्याइएको रकम र कुन कुन शीर्षकमा खर्च गरिने हो भनेर लिखित रुपमा मागेको सूचना एकहप्ता बितिसक्दा सम्म आयोजकले नदिएको सुदूरपश्चिम मिडिया विकास केन्द्रले अध्यक्ष उमिद बागचनले बताए । अध्यक्ष बागचनले खेल आयोजकले खेलकुदको कार्यक्रम हुने दिन आउनै लाग्दापनि सञ्चारका लागि छुट्ट्याइएको रकम हालसम्म सार्वजनिक नगर्नु शंकाको विषय भएको दाबी गर्छन ।
यसअघि छैटौं खेलकुद तयारी सचिवालयले पत्रकारलाई प्रेस समन्वय समितिमा राखेको भएपनि टोलीले आयोजकहरुले वास्तविक सूचना लुकाउने र पत्रकारलाई आपसमा लडाउन खोजेको भन्दै समितिमा बस्न अस्वीकार गरेको थियो । खेल आयोजकले पत्रकारलाई कुनै सूचना नदिइकनै खाली छड्के किनाराको साक्षीको रुपमा राख्न खोजेको भन्दै प्रेस समन्वय समितिमा वस्न अस्वीकार गरेको पत्रकार महासंघ कैलालीका अध्यक्ष भरत शाहको भनाई छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामासँग बुझ्दा लामाले मिडियालाई प्रत्येक दिन काउन्टडाउन उपलब्ध गराइ रहेको दाबी गर्छन । उनले सवैलाई सूचना एवम् जानकारी उपलब्ध गराई रहनुपर्ने आवश्यकता नरहेको बताए ।
स्मरणरहोस् खेल आयोजकले आफूहरुलाई सु–सूचित हुन पाउने अधिकारबाट बञ्चित गराएर पूर्वाधार निर्माण र खेलका कार्यक्रममा ठूलो रकम घोटाला गरेको भन्दै न्यायको लागि अख्तियारका र सरोकारवाला निकायमा जाने सम्बन्धित क्षेत्रका ब्यक्तिहरुले बताएका छन् । छैटौं खेलकुद प्रतियोगिता यही १४ देखि २१ गतेसम्म सुदूपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालन हुने छ ।

प्रतिक्रिया