मधेसमा रणनीति बनाउन कांग्रेसको गृहकार्य

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसले विगतका बर्षमा मधेसका माग र मुद्धालाई भौतिक रुपमा समेटेपनि त्यसलाई भावनात्मक रुपमा समेट्न नसकेको मधेसवादी नेताहरुले बताएका छन् ।
पार्टी कार्यालय सानेपामा कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा तराई मधेसवाट प्रतिनिधित्व गर्ने सभासद तथा नेताहरुले मधेसलाई भावनात्मक रुपमा समेट्न नेतृत्वलाई सुझाव दिएका हुन् । उनीहरु मधेसी समूदायका लागि कांग्रेसले धेरै काम गरेको भएपनि त्यसको प्रचार प्रसार गर्न नसक्नु पार्टीको कमजोरी रहेको निष्कर्ष निकालेका छन् ।
कांग्रेस सभापति एवम् तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाकै पालामा मधेसी समूदायका लागि मात्रै बनाईएको नेपाली सेनाको सबुज गणका बारेमा प्रचार प्रसार हुन नसक्दा कांग्रेसका मुद्धा ओझेलमा परेको मधेसवादी नेताहरुले बताए । नेपाली सेनालाई समावेशी बनाउनका लागि मधेसीलाई मात्रै राख्ने गरेर धेरै अगाडि सबुज गण स्थापाना भईसकेको छ ।
अहिले आएर बिभिन्न मधेसवादी दलले सेनामा मधेसीको समूहगत प्रवेशको कुरा गर्नु उचित नरहेको कांग्रेस नेताहरुको भनाई छ । उनीहरुले मधेसीको अलग गण भईसकेको सन्दर्भमा समूहगत प्रवेशको माग गर्नु जायज नहुने जनाएका छन् ।
कांग्रेसले तराई र मधेसका जनताका लागि धेरै काम गरेको दाबी गरेको छ । बैठकका सहभागीहरुले कांग्रेसले मधेस र मधेसीका लागि गरेको कामको प्रचार प्रसारमा जोडदिनुपर्ने जनाएका थिए ।
कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले तराई र मधेसमा कांग्रेसको धारणा सम्बन्धमा रणनीति तयार पार्न सभापति सुशील कोइराला सहित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यसँग आज छलफल गरेको हो ।

प्रतिक्रिया