४ सय मिटर दौडमा प्रमिलालाई स्वर्ण

कैलाली, १७ फागुन । सुदूरपश्चिममा जारीछैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन आज एथलेटिक्सको ४ सय मिटरको महिला दौडमा सशस्त्र प्रहरीकी प्रमिला चौधरी रिजालले स्वर्ण जितेकी छिन् । निर्धारित दूरी १ मिनेट १ सेकेन्डमा पुरा गर्दै चौधरीले स्वर्ण आफ्नो पोल्टामा पारेकी हुन् ।
सशस्त्र प्रहरीकै दिलमाया कार्कीले भने निर्धारित दूरी १ मिनेट ९ सेकेण्डमा पुरा गर्दै रजत पदक पक्का गरिन् । काश्य पदक भने पश्चिमाञ्चलकी मनिषा अधिकारील हात पारिन् । धनगढी रंगशालामा जारी एथलेटिक्सकै चार सय मिटरको पुरुष दौडमा नेपाल प्रहरीका तिलकराम थारुले स्वर्ण पदक हात पारे । त्यस्तै रजत पदक र काश्य पदक क्रमशः नेपाल प्रहरीकै सिद्धान्त अधिकारी र  पश्चिमाञ्चलका बिमल बस्नेतले जीते । थारुले निर्धारित दुरी ४९ दशमलब ६ सेकेन्डमा पुरा गरे भने अधिकारीले ५० दशमलब ९ सेकेन्डमा तथा बस्नेतले ५१ दशमलब ८ सेकेन्डमा पुरा गरे ।
पुरुष तर्फको ५ हजार मिटर दौडमा सशस्त्र प्रहरीका किरण महत स्वर्ण पदक जीत्दा सशस्त्र प्रहरीकै लक्ष्मण मल्लठकुरी रजत पदक र पश्चिमाञ्चलका मिनराज विकले काश्य पदक हात पारे । महतले निर्धारित दूरी १५ मिनेट ४० दशमलब २ सेकेन्डमा पुरा गरे । त्यस्तै ठकुरीले १५ मिनेट ४३ दशमलब ९ सेकेन्डमा र विकले १५ मिनेट ४८ दशमलब ६ सेकेन्डमा पूरा गरेका थिए ।
उता ४ सय मिटरको पुरुष हडल्स ५८ सेकेन्डमा पुरा गर्दै नेपाल प्रहरीका रामप्रित चौधरीले स्वर्ण पदक हात पारे । उक्त स्पर्धामा सन्तोष श्रेष्ठले रजत पदक र नेपाल प्रहरीका धिरेन्द्र चौधरीले काश्य पदक हात पारे । रजत पदक जित्न श्रेष्ठले निर्धारित दूरी ५९ दशमलब २ सकेन्डमा पुरा गरका थिए । काश्य पदक जितेका धिरेन्द्र चौधरीले भने ५९ दशमलब ४ सेकेन्डमा पुरा गरेका थिए ।
महिला भलिबल
यसैगरि आजै भएको महिला भलिबलमा नेपाल प्रहरीले एपिएफलाई पराजित गरेको छ भने पश्चिामाञ्चलले पूर्वाञ्चललाई पराजित गरेको छ । नेपाल प्रहरीले एपिएफलाई २५–२२, २५–२१,२३–२५ र २६–२४ मा पराजित गरेको छ । पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–५, २५–११ र २५–६ अंकले पराजित गरेको छ ।
बास्केटबल
विभागीय टोली बिश्वबिद्यालय टिमले सुदूरपश्चिममा जारी छैटौं राष्ट्रिय खेलकुदमा बास्केटबलको महिलातर्फ उपाधि जितेको छ । छैटौं राष्ट्रिय खेलकुदमा विश्वविद्यालय टिमको यो पहिलो स्वर्ण हो ।
विभागीय टोली विश्वविद्यालयलाई छैटांै राष्ट्रिय खेलुकुदमा पहिलो स्वर्ण दिलाउन महिला बास्केटबल टिमले पूर्वाञ्चललाई पराजित गरेको हो । धनगडीको सुदुर पश्चिम एकेडेमीको कोर्टमा भएको खेलमा विश्वविद्यालय टिमले पूर्वाञ्चललाई ३०—१९ को स्कोरले पराजित ग¥यो । खेलको पहिलो क्वाटरमा १०—५ को दोब्बर अङ्कले अग्रता कायम गरेको विश्वविद्यालय टिमले दोस्रो क्वाटरमा भने डबल अङकले पछि परेको थियो ।
दोस्रो क्वाटरमा पूर्वाञ्चलले ६—३ ले अग्रता लिएको थियो । त्यसपछि चौथो क्वाटरमा ११—२ को भारी अन्तरले अग्रता लिएको विश्वविद्यालय टिमले अन्तिम क्वार्टरमा ६—६ को बराबरी खेल्दै उपाधीमा कब्जा जमाएको हो । विश्वविद्यालय टिमको जितमा म्रिनालीनी श्रेष्ठले सर्वाधिक १६ स्कोरको योगदान दिएका थिए ।
यस्तै पूर्वाञ्चलका लागी सुब्रिना थापाले सर्वाधिक ७ स्कोर गरेकी थिईन् । प्रतियोगिताको प्लेयर अफदी सिरीज विश्वविद्यालय टिमकी अनुशा मल्ल ठकुरी घोषित भईन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोलीको हैसियतमा सहभागी हुँदै आएको विश्वविद्यालय टिमको यो पहिलो स्वर्ण हो ।
छैटौं राष्ट्रिय खेलकुदमा विश्वविद्यालय टिमले तीनवटा खेलमा मात्रै भाग लिएको छ ।

 

प्रतिक्रिया