उन्मुक्ति दिने आयोग बन्नु हुँदैन

काठमाडौं, १७ फागुन । न्यायका लागि द्वन्द्व पीडित समाज, बेपत्ता परिवार राष्ट्रिय सञ्जाल र आतंक पीडित टुहुरा समाजले सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग बनाउदा दोषीले उन्मुक्ति पाउने गरेर विधेयक ल्याउन नहुने सुझाव दिएका छन् ।
कांग्रेस सभपाति सुशील कोइरालासँग आज महाराजगञ्जमा भेटगरेर तीन वटा द्वन्द्व पीडित संगठनहरुले मानव अधिकार उलंघन गर्नेलाई हदै सम्मको कारबाही सहितको व्यवस्था आयोगलाई दिन माग गरेका छन् । उनीहरुले विधेयक बनाउनु पूर्व सम्बन्धित पक्षसँग परामर्श गर्न आग्रह गरेका छन् । प्रमुख तीन दलको बैठकले सभापति कोइरालालाई आयोगहरु बनाउने बिषयमा जिम्मेवारी तोकेपछि द्वन्द्व पीडित संगठनहरुले भेट गरेर ज्ञापन पत्र बुझाएका हुन् ।
द्वन्द्वका कारण समाजमा सिर्जना भएको पीडा, तीक्तता र वैमनस्यतालाई भावनात्मक रुपमा मेलमिलापमा परिणत गर्नका लागि सत्य निरुपण तथा वेपत्ता छानबिन आयोगका मुख्य सरोकारवालासँग छलफल गरेर रायसुझाव लिन उनीहरुको माग छ । ।
गम्भिर मानव अधिकार उलंघन गर्नेलाई क्षमादान दिन नहुने व्यस्था राख्न सभापति कोइरालासँग सरोकारवालाले आग्रह गरेका छन् । जवाफमा सभापति कोइरालाले आफू सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग छिटो बनाउने पक्षमा रहेको भन्दै आयोगमा रहने बिषयमा सबैसँग सरसल्लाह गर्ने बताएका छन् । उनले मानव अधिकार उलंघनगर्नेलाई छुट दिने पक्षमा कांग्रेस नरहेको बताए ।
सभापति कोइरालालाई द्वन्द्व पीडित संगठनका प्रतिनिधिहरुले बुझाएको ज्ञापन पत्रमा आयोगको स्वतन्त्रता, महान्यायधविक्ताको भूमिका, पीडित तथा साक्षी संरक्षण, परिवारका सदस्यलाई सूचना प्रावधान, शब उत्खनन्,  हदम्याद सम्बन्धी व्यवस्था, प्रतिवेदन सार्वजनीकरण , आयोगको कार्यादेश र काम कर्तव्य, आयोगहरु बीचको समन्वय, परिपूरण लगायतका बुँदामा स्पष्ट हुने आग्रह सहितको ज्ञापन पत्र बुझाएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया