हिटलरका नयाँ पेन्टिङ फेला

पाराग्वे, १६ फागुन । धेरैले जर्मनीका हिटलरलाई ६० लाख यहुदीको हत्या गराउने क्रुर तानाशाह भनी चिन्ने गर्छन् । दोस्रो विश्वयुद्धताका उनले करिब ६० लाख यहुदीको नरसंहार गराएका थिए । रुसमा उनले लाखौँको हत्या गराएका थिए । लाखौँ मानिसको हत्याका लागि जिम्मेवार ठहर्याईएका हिटलर कलाका पारखी थिए भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । हो, उनी कलाको परख गर्ने व्यक्ति मात्र थिएनन्, कुशल चित्रकारसमेत थिए ।
तिनै हिटलरका सातवटा चित्र चेक गणतन्त्रमा फेला परेका छन् । इतिहासविद् जिरि कुचरले चेक गणतन्त्रको दोस्कान सहरमा रहेको भिक्षुणीहरूको आश्रममा हिटलरले तयार पारेका चित्र फेला परेका हुन् । त्यसमध्ये एउटा चित्रको नाम छ– मेमोरिज अफ स्टालिनग्राद अर्थात् स्टालिनग्रादको स्मृति । चित्रमा घाइते जर्मन सेनाले सुरुङमा आश्रय लिइरहेको देखाइएको छ । स्टालिनग्रादको युद्ध दोस्रो विश्वयुद्धकै सबैभन्दा भीषण युद्धमध्ये एक थियो । युद्धमा जर्मन सेनाले रुसी सैनिकबाट नराम्रो क्षति बेहोरेको थियो । स्टालिनग्रादको युद्धमा पराजयपछि कमजोर भएको जर्मनीले अन्त्यमा महायुद्धमै पराजय बेहोरेको थियो । यद्यपि, सोही युद्धको स्मृति झल्किने ‘मेमोरिज अफ स्टालिनग्राद’ हिटलरको सबैभन्दा प्रिय चित्रमध्ये एक रहेको बताइन्छ ।
युद्ध समाप्त हुने दिन नजिकिँदै गर्दा हिटलरले चेक सहर बोहेमियामा रहेको एउटा धार्मिक स्थलमा ती चित्रहरू लुकाउने आदेश दिएको बताइन्छ । तर, अमेरिकी सैनिकले हिटलरका चित्र बरामद गरी कब्जामा लिएका थिए । अमेरिकी सैनिकको कब्जामा पुगेका चित्र कसरी दोस्कान सहरमा पुग्यो भन्नेबारे केही थाहा हुन सकेको छैन । इतिहासविद् कुचरले हिटलरका थप चित्र फेला पार्ने सम्भावना रहेको बताएका छन् । ‘अमेरिकी फौजले हिटलरका जम्मा १६ वटा चित्र बरामद गरेको थियो, अरू चित्र कहाँ छन् ? खोजी गर्नुपर्छ,’ उनले भने । (एजेन्सी)

प्रतिक्रिया