विस्फोट गराउनेको पहिचान

काठमाडौं, १६ फागुन । सुरक्षाका दृष्टिले सुरक्षित क्षेत्र मानिएको बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयअगाडि तीनजनाको ज्यान जाने गरी बम विष्फोट गराउने व्यक्तिको पहिचान खुलेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार बम विष्फोटमा संलग्न व्यक्ति धनकुटा नगरपालिका वडा नम्बर १ हिले बजारका ३५ वर्षीय विश्वक्रान्ति भनिने देवराज लामा हुन् । महाशाखाले लामाको पहिचान गरी तस्बिरसमेत सार्वजनिक गरेको छ ।
महाशाखाले लामालाई फरार भएको भनी ‘मोस्ट वान्टेड’को सूचीमा राखेको छ । महाशाखाले आफ्नो वेबसाइटमार्फत लामालाई देख्ने र चिन्ने व्यक्तिले तुरुन्त खबर गर्न ९८५१२८००१७, ९७४१२२३१००, ९८५१०२५७९९ र ९८५१०३४३१३ को मोबाइल नम्बरसमेत सार्वजनिक गरेको छ ।
आफूलाई संयुक्त जातीय मुक्तिमोर्चा नेपालका प्रवक्ता विश्वक्रान्ति बताउने लामा त्यही व्यक्ति हुन् जो धादिङ कारागारबाट कात्तिकको पहिलो साता मात्रै छुटेका थिए । उनी गत जेठ महिनाको पहिलो साता धादिङको बैरेनीबाट पक्राउ परेका थिए । प्रहरीले उनको साथबाट एक थान जिलेटिन र विष्फोट गराउन प्रयोग हुने केप बरामद गरेको थियो । पक्राउ परेलगत्तै धादिङ प्रहरीले उनलाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाएपछि उनी कैद परेका थिए । त्यसको चार महिनापछि अर्थात् कात्तिकको पहिलो साता उनी सिडिओको आदेशमा जेलबाट रिहा भएका थिए । केही साताअघि धादिङस्थित दूरसञ्चार प्राधिकरणको टावरमा रहेको ट्रान्समिटरमा उनले आगलागीसमेत गराएको धादिङ प्रहरीले जनाएको छ ।
त्यसअघि पनि उनी काठमाडौँस्थित केन्द्रीय कारागारमा जेल परेका थिए । काठमााडौँ जिल्ला अदालतले मागेको १० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि लामालाई केन्द्रीय कारागार चलान गरिएको थियोे । उनलाई १९ जेठ २०६७ मा तिनचुलेबाट महानगरीय प्रहरी वृत्त बौद्धले चन्दा असुल्दै गर्दा पक्राउ गरेको थियो । वृत्तले उनलाई चन्दा आतङ्क फैलाएको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।
त्यसअघि उनले नै कमलादीस्थित प्रज्ञाभवनमा सकेटबम राखेका थिए । त्यसबेला भवनमा राष्ट्रिय जनमोर्चाको कार्यक्रम चल्दै थियो । बम राखेको जिम्मेवारी लिँदै उनले विभिन्न सञ्चारमाध्यमलाई गोप्यस्थानमा लगी अन्तर्वार्तासमेत दिएका थिए । बबरमहलमा मङ्गलबार भएको विष्फोटपछि पनि उनले विभिन्न सञ्चारमाध्यममा टेलिफोन गरी घटनामा आफ्नो संलग्नता रहेको जानकारी दिएका थिए ।
उनले १३ मंसिर २०६६ मा बालुवाटारस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयअगाडिको मूलढोकामा सकेटबम र सुतलीबम राखेका थिए ।

शवमाथि बार्गेनिङ

काठमाडौं, बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयअगाडि बम विष्स्फोट भएको दुईवटासम्म मृतकको पोस्टमार्टम हुनसकेको छैन । विष्फोटमा धादिङ बैरेनी–१ का ३५ वर्षीय कृष्णबहादुर तामाङ, सोही स्थानका मानबहादुर तामाङ र वीरबहादुर तामाङ मारिएका थिए ।
उनीहरूको शव अझै महाराजगन्जस्थित शिक्षण अस्पतालमा प्लास्टिकले पोको पारिएको अवस्थामा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी धिरजप्रताप सिंहका अनुसार मृतकका आफन्तले शव बुझ्न नमानेपछि पोस्टमार्टम हुन नसकेको हो । डिएसपी सिंहले भने, ‘मृतकका आफन्तले पहिले राहत पाउनुपर्ने माग राखेर लास बुझ्न चाहेका छैनन् ।’ घटना भएको पाँच घन्टापछि नै गृहमन्त्रालयले पत्रकार सम्मेलनमार्फत पीडित परिवारलाई उचित राहत दिने भनेको थियो । तर, राहत रकमको परिणाम केही खुलाइएको थिएन । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार मृतकका परिवारलाई कति राहत दिने भन्ने विषयमा मन्त्रालय नै स्पष्ट छैन । उनले भने, ‘मन्त्रालय राहतबारे स्पष्ट नहुनु भनेको पीडित परिवारसँग  बार्गेनिङ गर्न खोज्नु हो, शोकमा डुबेका परिवारले यो अवस्थामा कसरी बार्गेनिङ गर्ने ?’
दिनभरजसो नै मृतकका आफन्तमध्ये कोही प्रहरी परिसर काठमाडौंमा देखिन्थे भने कोही  शिक्षण अस्पतालको पोस्टमार्टम कक्षबाहिर । गृहमन्त्रालयका प्रवक्ता शङ्कर कोइरालाले राहत रकमका लागि मन्त्रालयमा कुनै माग नआएकाले त्यसतर्फ ध्यान नगएको बताएका छन् । सौर्यसँग उनले भने, ‘मृतकका परिवारलाई दिने रकमबारे निर्णय भएको छैन, सबै आपसी समझदारीमा मिलाउन सकिन्छ ।’ मृतक कृष्णबहादुरका बुबा लालबहादुर तामाङ छोराको शवलाई गाउँमा नै दाहसंस्कार गर्न चाहन्छन् । तर, शव लैजान उनीसँग न खर्च छ, न तागत नै ।

प्रतिक्रिया