बाबुराम भट्टराईको बिकल्प खोज्न गच्छेदार तयार

काठमाडौ, १६ फागुन । उपप्रधान एवम् गृहमन्त्री विजय गच्छदारले सहमतीय सरकारको नेतृत्व कसले गर्ने भन्ने टुङगो नलागी सरकार परिवर्तन नहुने बताएका छन् ।
राजधानीमा आज रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझे पछि सञ्चारकर्मीसँग कुरागर्दै गच्छदारले सरकार परिवर्तन गर्नु अघि नेतृत्वको विषयमा टुङगो नलगाई शान्ति र संविधान धरापमा पर्ने चेतावनी दिए । गच्छदारले अहिलेकै सरकारलाई राष्ट्रिय सरकारमा रुपान्तरण गर्नु सबैभन्दा उपयूक्त भए पनि सहमतिको सरकारका लागि आफूहरु बाबुराम भट्टराईको विकल्प खोज्न तयार रहेको बताए ।
उनले भने, ‘ठूलो दलको नाताले प्रचण्डजीले सहमतिको सरकारको नेतृत्व गर्न सक्नु हुन्छ । कांग्रेसको नेतृत्वमा पनि सहमति बन्न सक्छ ।’ उनले सरकारमा नेतृत्वको दाबी मधेसी मोर्चाले नगर्ने भन्दै एमालेको संभावना नरहेको बताए ।
सेनासमयोजनको कम निश्चित समयभित्र पुरा गर्नुपर्ने भन्दै गच्छेदारले फागुन मसान्तसम्म सहमतिको बातावरण बनाएर समायोजन प्रक्रिया सक्नु पर्ने उल्लेख गरे । उनले फागुन मसान्तसम्म समायोजनको काम कुनै पनि हालतमा सक्नु पर्ने बताएका छन् ।
गच्छदारले गृह प्रशासनलाई राजनीति हस्तक्षेप विहीन बनाउने प्रतिबद्धता ब्यक्त गर्दै दाङमा ट्राफिक प्रहरीले नियम विपरित मोटरसाईकल चलाउनेलाई कारवाही गरेको घटनामा प्रहरीको समर्थन गरे । उनले भने, ‘प्रहरीको कारवाही उचित हो, यसलाई सबैले सहयोग गर्नु पर्छ, सुरक्षा निकायको मनोबल गिराउने काम गर्नु हुँदैन ।’

प्रतिक्रिया