पुटिनको हत्या गर्ने षड्यन्त्र असफल

मस्को, १५ फागुन । रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनको हत्या गर्ने षड्यन्त्र रुस र युक्रेनका सुरक्षा निकायको संयुक्त प्रयासमा असफल भएको युक्रेनको प्रतिजासुसी संयन्त्र एसबियुले सोमबार जनाएको छ । रुस अधीनस्थ भूमि उत्तरी ककेससलाई अलग इस्लामिक राष्ट्र बनाउन खोज्ने समूहका दुई कार्यकर्तालाई हत्याको षड्यन्त्रमा लागेका बेला पक्राउ गरिएको बताइएको छ । उनीहरूलाई ‘ब्ल्याक सी’ को ओडिसा बन्दरगाहबाट युक्रेनी सुरक्षा निकायको विशेष टोलीले पक्राउ गरेको बताइएको छ ।
‘पक्राउ परेका व्यक्तिहरूले पुटिनको हत्या गर्ने तयारी गरिरहेका थिए भन्ने कुराको म आधिकारिक रूपमा पुष्टि गर्छु,’ एसबियुकी प्रवक्ता मारिना ओस्टापेन्कोले भनिन् ।
रुसी गुप्तचर निकाय केजिबीका पूर्वअधिकारीसमेत रहेका
पुटिनले उत्तरी ककेससको चेच्निया क्षेत्रमा बल प्रयोग गरी पृथकतावादी आन्दोलन दमन गरेका थिए । त्यसलगत्तै उनी रुसको राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसैले सो क्षेत्रका मुसलमान चरमपन्थी पुटिनसँग
रुष्ट छन् ।
पक्राउ परेका दुई व्यक्ति चेच्नियाली विद्रोही रहेका बताइएको छ । राष्ट्रपति पदका लागि आइतबार हुने निर्वाचनपछि पुटिनको हत्या गर्ने तयारी उनीहरूले गरेको बताइएको छ ।
रुसको राज्यनियन्त्रित टेलिभिजनले पक्राउ परेका व्यक्तिले
हत्याको योजना बनाएको स्वीकार गरेको जनाएको छ । उनीहरूले बम आक्रमण गरी पुटिनको हत्या गर्ने योजना बनाएको बताइएको छ । यस पटकको निर्वाचनमा पुटिनले विजय हासिल गर्ने सम्भावना अधिक रहेको बताइन्छ । युक्रेनको प्रतिजासुसी संयन्त्रबाहेक पुटिनका प्रवक्ता र रुसी सङ्घीय सुरक्षा सेवाले समेत हत्याको षड्यन्त्र रचिएको पुष्टि गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया