ट्रान्जिट प्वाइन्ट बन्दै हेटौंडा

हेटौँडा, १४  फागुन । ‘कहिले अपाङ्ग भेटिन्छन् त कहिले खुवा भनेर चरेस बोकेकाहरू फेला पर्छन् ।’
इन्स्पेक्टर निर्मल थापा मकवानपुरमा लागू औषधको ओसारपसारमा प्रयोग भएका नयाँ तरिका सुनाउँदै भन्छन्, ‘लागुऔषध ओसारपसार गर्नेले प्रहरीलाई झुक्याउन खोजेका छन् ।’
भारतको रक्सौलबाट नेपालका विभिन्न सहरमा लागुऔषध ओसारपसारका लागि हेटौँडा नाका कारोबारीहरूले सुरक्षित र भरपर्दो नाकाका रूपमा प्रयोग गर्दै आएका छन् । वीरगन्जबाट नारायणगढ, पोखरा, काठमाडौँ र अन्य सहरमा लागुऔषध ओसारपसार हेटौँडा नाका हुँदै भइरहेको छ ।
हरेक दिनजसो लागुऔषध ओसारपसारमा संलग्नलाई प्रहरीले समातेको छ । यो आर्थिक वर्ष मात्र ९० जनालाई पक्राउ गरेको बताउँदै मकवानपुरका एसपी पूर्णचन्द्र जोशी भन्छन्, ‘पूरै भूभाग राजमार्गले छोएकाले जिल्ला कारोबारीका लागि ट्रान्जिट प्वाइन्टको रूपमा विकसित भएको छ ।’
लागुऔषध ओसारपसारमा अपाङ्गको पनि प्रयोग भएको छ । पक्राउ परेकामध्ये १० भारतीय नागरिक  छन् । प्रहरीले दुई केजीसम्म परिमाणमा खैरो हिरोइन बरामद गरेको छ । चरेस, गाँजा, नाइट्रोभ्याट, डाइजेपाम, फेन्सिडिल ओसारपसारमा संलग्नको उमेर १८ देखि ३५ वर्ष छ ।
एसपी जोशी मकवानपुर लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाइन्ट बने पनि मकवानपुरमा लागुऔषधको प्रयोगकर्ता कम भएको बताउँछन् ।

लागुऔषधसहित युवक पक्राउ

हेटौँडा, भारतको रक्सौलबाट लागुऔषध बोकेर आएका एक युवक चुरियामाईको रातोमाटे चेकपोस्टमा पक्राउ परेका छन् । वीरगन्जबाट हेटौँडा आउँदै गरेको ना ४ ख ६११६ नम्बरको बस चेकजाँचका क्रममा कास्की, पोखरा–९ का १८ वर्षीय सञ्जय केसीलाई नियन्त्रणमा लिइएको हो । केसीको साथबाट लागुऔषध डाइजेपाम एक सय सात, फेनार्गन एक सय ६ र लुप्रिजेसिक एक सय एक थान बरामद गरिएको पशुपतिनगरका इन्स्पेक्टर  दीपेन्द्र पञ्जियारले बताए । (सौस)

दूधको क्यारेटमा लागुऔषध !

वीरगन्ज, लागुऔषधका कारोबारीहरूले प्रहरीलाई झुक्याउन दूधको क्यारेटमा लागुऔषध ओसारपसार गर्न थालेका छन् ।
आइतबार वीरगन्जमा प्रहरीले लागुऔषध भएको दूधको क्यारेटसहित एक भारतीयलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
प्लास्टिकको क्यारेटमा दूधको प्याकेटसँगै लुकाएर राखिएको लागुऔषधसहित बिहारको आरा टाउनपोस्ट थाना भागलपुर मटिअर्वाका ३० वर्षीय गोविन्द सिंह पक्राउ परेका छन् । उनको साथबाट एक हजार एम्पल डाइजेपाम र एक हजार नर्पिmन बरामद भएको डिएसपी रविन्द्र केसीले बताए ।
वीरगन्जको मीना बजारस्थित बराल मार्केटनजिकै ठेलामा दूधको क्यारेट राखेर हिँडिरहेका सिंह सुराकीका आधारमा पक्राउ परेका हुन् । सीमावर्ती भारतीय सहर रक्सौलको राहुल मेडिकल हलबाट लागुऔषध खरिद गरेर ल्याएको हिरासतमा रहेका सिंहले सञ्चारकर्मीलाई बताए । उनले यसअघि पनि यसरी थुप्रैपटक  नेपालमा प्रतिबन्धित लागुऔषध ल्याएर बिक्री गरेको स्विकारे । (सौस)

प्रतिक्रिया