एमाले दाङले ट्राफिक प्रकरणमा छलफल गर्ने

दाङ, १३ फागुन । ‘१५ वर्ष जागिर खाँदा पनि यस्तो भएको थिएन ।’ शुक्रबार दाङका ट्राफिक प्रहरीले राजिनामा घोषणा गरेका विषय समेटिएको शनिबारको पत्रिका हेर्दै हवल्दार पदमबहादुर रावलले भने, ‘आफ्नै निकायले नैतिकता गिराएको थियो, तर सञ्चारले न्याय ग¥यो ।’
शुक्रबार नेकपा(एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य विवेक श्रेष्ठ र युवा सङ्घ घोराही सदस्य जीवन नेपाली सवार ब्लुबुक नभएको मोटरसाइकल नियन्त्रणमा लिँदा विवाद बढेर ट्राफिक प्रहरी तनाबमा थिए ।
विवाद मिलाउन भएको छलफलमा चार प्रहरीले माफी माग्ने र विभागीय कारबाही गर्ने भनिएपछि दाङका ट्राफिक इन्स्पेक्टरसहित १३ जनाले राजिनामा घोषणा गरेका थिए ।
दाङका एसपी गणेशबहादुर ऐरले घटना सामान्य भएको र सञ्चारमाध्यम नल्याउनू भने पनि शनिबार सो घटना राष्ट्रिय समाचार बनेर आएपछि राजिनामा घोषणा गरेका प्रहरीले न्याय पाएको अनुभूति गरिरहेका छन् । भ्रातृ सङ्गठनका नाममा पार्टीकै विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै एमाले दाङले घटनामा छलफल गर्ने बताएको छ ।
शुक्रबार बर्दी खोलेर फाल्दै राजिनामा घोषणा गरे पनि शनिबार ट्राफिक प्रहरीले कडाइका साथ जाँच गरेका थिए । शनिवार बिहान मात्रै ब्ल्युबुक र लाइसेन्स नभएका दुई मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै शनिबार राप्ती अञ्चल प्रहरी कार्यालयका एसएसपी घननाथ चन्दको संयोजकत्वमा घटना छानविनका लागि चार सदस्यीय समिति गठन भएको छ ।

प्रतिक्रिया