गुप्ता नछुटेसम्म अध्यक्ष खाली

काठमाडौँ, १२ फागुन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकले जयप्रकाशप्रसाद गुप्ताविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाप्रति असुन्तष्टि जनाउँदै देशव्यापी भण्डाफोर अभियान थाल्ने भएको छ ।
पार्टीको बिहीबारदेखि दुई दिन बसेको केन्द्रीय समिति बैठकले अदालतको फैसला पूर्वाग्रही भएको ठहर गर्दै भण्डाफोर अभियान थाल्ने निर्णय गरेको हो । यसैगरी, बैठकले गुप्ता जेलबाट बाहिर नआएसम्म अध्यक्ष पद खाली राख्ने निर्णय पनि गरेको संसदीय दलका उपनेता नन्दनदत्त रायले जानकारी दिए । उनका अनुसार गुप्ता जेलबाट बाहिर नआएसम्मका लागि सहअध्यक्ष राजकिशोर यादवलाई कार्यबाहक अध्यक्ष बनाउने निर्णय भएको छ ।
‘जेपी गुप्ता जेलबाट बाहिर नआएसम्म हामीले उहाँका लागि अध्यक्ष पद खाली राखेका छौँ, जेलबाट निस्किएपछि उहाँ नै अध्यक्ष हुनुहुनेछ,’ उपनेता रायले भने, ‘अध्यक्ष नभएपछि काम चलाउनका लागि मात्र हामीले सहअध्यक्ष राजकिशोर यादवलाई कार्यबाहक अध्यक्ष बनाएका छौँ ।’
सञ्चारमन्त्रीमा कसलाई सिफारिस गर्ने भन्नेमा भने सहमति जुट्न नसकेको बताइएको छ । विनाविभागीयमन्त्री राजलाल यादव, महासचिव आत्मराम साहलगायत नेताले सञ्चारमन्त्रीमा दाबेदारी प्रस्तुत गरेको स्रोत बताउँछ । सञ्चारमन्त्री रहेका गुप्तालाई भ्रष्टाचार मुद्दामा सर्वोच्चले दोषी ठहर गरी जेल चलान गरिएपछि उनको ठाउँमा कसलाई पठाउने भन्नेमा पार्टीमा सहमति जुट्न नसकेको हो ।
गुप्तालाई सर्वोच्चले गत मङ्गलबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी जेल सजायको फैसला सुनाएको थियो ।

प्रतिक्रिया