यमन समस्यामा इरानको अग्रसरता

Yeman-Ko-samashya-Samadhan-
साना । यमनमा जारी समस्या समाधानका लागि इरानले प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव इरानले संयुक्त राष्ट्रसंघसमक्ष गरेको हो । इरानले संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनसमक्ष सो प्रस्ताव गरेको बताइएको छ । इरानले यमनमा जारी रहेको हिंसाको अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायको संलग्नताको माग गरेको छ । चार बुँदामा प्रस्तुत गरिएको भनिएको सो प्रस्तावमा यमनमा जतिसक्दो चाँडो यद्धविरामको प्रस्ताव गरिएको बताइएको छ । उसले दुवै पक्षले युद्धविराम गर्नुपर्ने सो प्रस्तावमा जनाएको छ ।
अन्तर्राष्ट्रिय समुदायको सक्रिय सहभागिता हुनुपर्ने, युद्धविरामको माध्यमबाट दुवै पक्षले वार्ता थाल्नुपर्ने सो प्रस्तावमा जनाइएको छ । त्यसैगरी, यमनमा मानवीय सहायतासम्बन्धी कार्यक्रम तत्कालै सुरु गर्नुपर्ने पनि सो प्रस्तावमा प्रस्तुत गरेको छ । साथै सो प्रस्तावमा उक्त समस्याको समाधानका लागि राजनीतिक पहल गरिनुपर्ने र अन्तर्राष्ट्रिय मध्यस्थताको उपस्थितिमा दुवै पक्षले वार्ता थाल्नुपर्ने पनि बताइएको छ ।
यस्तो वार्ता यमनमा राष्ट्रिय सरकारको गठनपछि सम्भव हुने पनि सो प्रस्तावमा जनाइएको छ । तरपनि सो सरकारमा को कसको सहभागिता रहने भन्ने बारेमा भने स्पष्ट नखुलाइएको अर्काे एक समाचारमा जनाइएको छ । यमनमा जारी द्वन्द्वको कारण संयुक्त राज्य अमेरिका, यु्रोप, चीन, भारत तथा सबै जसो ठूला राष्ट्रहरूले राजदूतावास बन्द गर्नुका साथै आ आफ्ना कर्मचारी र नागरिकलाई फिर्ता लगिसकेका छन् । विगतका चार महिनादेखि हुथी विद्रोही समूहले जारी राखेको सशस्त्र द्वन्द्वकाकारण यमनका सर्वसाधारण नागरिकको जीवन अस्तव्यस्त भएको बताइएको छ ।
द्वन्द्वमा परी बालबालिकासहित करिब ६०० जनाको ज्यान गइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीको आक्रमणमा परी यमनी राष्ट्रपति आबेद रब्बो मन्सुर हादी भागेर साउदी अरेबियामा शरण लिएर बसेका छन् । उनको समर्थनमा साउदी अरेबियाले पनि हुथीविरुद्ध सैनिक कारबाही जारी राखेको छ । (एजेन्स)

प्रतिक्रिया