२०६२/०६३ को आन्दोलनले गरेको राजिनीतिक परिवर्तनपछि माओवादीले कराते प्रशिक्षक ध्रुवविक्रम मल्लको नेतृत्वमा गणतान्त्रिक खेलकुद महासंघ गठन गर्यो ।
यो नै नेपाली खेलकुदमा राजनीतिक पार्टीको पहिलो भातृसंगठन हो । यसपछि राजनीतिक पार्टीको भातृसंगठन खुल्नेक्रम बढ्दै गएर एमाले, राप्रपा नेपाल, नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसम्म पुगेको छ । प्रायः राजनीतिक पार्टीका भातृसंगठनमा खेलकर्मीकै नेतृत्व छ ।
कुनै संगठनको नेतृत्व अहिले पनि खेलकुदमै सक्रिय व्यक्तित्वले गरेका छन् भने धेरै संगठनको नेतृत्व खेलकुद पृष्ठभूमी भएका नै छन् । अन्य दलभन्दा सत्तारूढ दल एमाले फरक देखिएकोे छ । एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ भने गैर खेलकर्मीको नेतृत्वमा छ ।
०६३ मा गणतान्त्रिक खेलकुद महासंघमा मल्लले नेतृत्व गर्दा यसको प्रभाव र चर्चा फरक खालको थियो ।
यसपछि जसरी मओवादी पार्टी विखण्डन भयो यसैगरी यसको भातृसंगठन पनि टुक्राटुक्रामा परिणत भयो । पहिलो साधारण सभाबाटै भलिबल प्रशिक्षक जयन्द्र चन्दले मल्ललाई प्रतिस्थापन गरेका थिए । खेलकुदका जानिफकारका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व विरोधी आन्दोलनमा साथ दिएकै कारण मल्लले नेतृत्वबाट हात झिक्नु परेको हो । ‘एउटा कारण यो पनि हो ।’ मल्ल आफैं यो कुरा स्वीकार गर्छन् ।
यसपछि माओवादी खेलकर्मीको एउटा भेलाले टोपबहादुर रायमाझीको उपस्थितिमा करातेका रणसंग्राम विष्टको नेतृत्वमा अर्को संगठन खडा गरेको थियो । माओवादीबाट वैद्य समूह अलग हुनु अगावै खेलकुदमा भने विष्टले संस्थापन पक्ष र चन्दले वैद्य पक्षको प्रतिनिधित्व गर्दै आएका थिए ।
सदस्यसचिव युवराज लामाका लागि उनकै पार्टीका भातृसंगठन उपयोगी नठानिए पछि माओवादी समर्थित खेलकर्मीको अर्को भेलाले पूर्वबक्सिङ खेलाडी अर्जुन केसीको नेतृत्वमा अखिल नेपाल खेलकुद महासंघ गठन भएको थियो । माउपार्टीको विभाजनको श्रृंखलाले खेलक्षेत्रलाई छोए पनि सबै माओवादी निकट खेल संगठनको नेतृत्व खेलकर्मीबाट हुनु माओवादी कित्ताको सकरात्मक पाटो बन्यो ।
तथापि, गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष ध्रुवविक्रम मल्लले भने विगत अझैं भुलेका छैनन् । ‘एन्फा नेतृत्वलाई जोगाउन पार्टीका नेतृत्व तहनै लाग्नु र म फुटबल संघ विरुद्धको आन्दोलनमा लाग्नुको कारण पनि नेतृत्वबाट हट्नु परेको हो । ’उनी भन्छन् ।
गतवर्ष मात्र सक्रिय रूपमा देखापरेको कांग्रेस समर्थित नेपाल लोकतान्त्रिक खेलकुद संघको नेतृत्व पोखरामा भलिबल खेलेका देवेन्द्र शेरचनले गरेका छन् ।
शेरचन स्थानीय तहका राम्रा खेलाडी भए पनि आम खेलकर्मीका लागि परिचित नाम भने होइनन् । तथापि, त्यसै संगठनले करातेका पूर्वराष्ट्रिय खेलाडी सुवोध प्रधानलाई महासचिवको जिम्मेवारी तोकेको छ । उक्त संगठनको केन्द्रीय कमिटीमा लगभग १५ प्रतिशत गैर खेलकर्मी रहेका छन् ।
राप्रपा नेपालको भातृसंगठन राष्ट्रिय खेलकुद संघ नेपालको नेतृत्व राष्ट्रिय टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाहीले गरेका छन् । मधेसी जनअधिकार फोरमले करातेका परिचित प्रशिक्षक ओमकृष्ण प्रसाईंलाई खेलकुदको जिम्मेवारी तोकेको छ ।
त्यसो त विजय गच्छदारको नेतृत्वमा रहेको लोकतान्त्रिक फोरमले खेलकुदमा चासो राख्ने बित्तिकै नेतृत्वको जिम्मेवारी क्याकुसिन खेलाडी गणेश लामालाई दियो । यसको भातृसंगठनको अध्यक्ष फुल कन्ट्याक्ट करातेका प्रशिक्षक काजिमान श्रेष्ठले गरे भने महासचिव जम्मेवारी सितेरियो करातेका बद्री केसीलाई दियो ।
यी सबैभन्दा फरक संगठनको रूपमा एमालेको भातृसंगठन रह्यो । एमालेको बुटवल महाधिवेशनमा पराजित पुरुषोत्तम पौडेलको अध्यक्षतमा खेलकुद महासंघको स्थापना भएको हो ।
पहिलो राष्ट्रिय सम्मेलनले पौडेलको नेतृत्वलाई जिम्मेवारी दिए पनि महासचिवमा करातेका परिचित प्रशिक्षक लक्ष्मण श्रेष्ठ (हाल दिवंगत भइसकेका) को स्थानमा अस्कलमा सामान्य बास्केटबल खेलेको भन्दा थप अनुभव नभएका लामा टेन्डी शेर्पालाई महासचिवको जिम्मेवारी दिएपछि संगठनमा गैर खेलकर्मीको प्रभाव बढ्दै गएको थियो । त्यसो त हाल कार्यवाहक अध्यक्ष रहेका केशव विष्ट, कार्यवाहक महासचिव राजुमान श्रेष्ठ, उपाध्यक्ष मोहम्मद समिउल्लाह र उपाध्यक्ष विनोद मैनालीलाई खेलकुदको सायदै अनुभव छ ।
यस संगठनमा बारम्बार खेलकर्मीले आफ्नो भूमिका खोजे पनि राजनीतिक नेतृत्वले कतै नअटाएका आफू निकट व्यक्तिलाई व्यवस्थापन गर्ने ठाउँको रूपमा मात्र प्रयोग गरेको छ । विशेषगरी एमालेकै अर्को संगठन युवा संघ नेपालको लाहान अधिवेशन र अखिलको पोखरा अशिवेशनदेखि ०७० मा काठमाडौंमा भएको अधिवेशनमा पराजित हुनेसम्मका लागि खेलकुद महासंघ व्यवस्थित गर्ने ठाउँको रूपमा एमालले यो संगठनलाई उपयोग गर्यो ।
महासंघको तीन वर्षअघि भएको राष्ट्रिय सम्मेलनमा त आफू निटक खेलकर्मीलाई तह लगाउन नै महासंघ नेतृत्व लागेको थियो । सम्मेलनमा १५ भिन्न खेलका प्रतिनिधिको भेलाले साझा उम्मेदवारको तयारी गरेपछि अन्त्यमा प्रतिनिधि थप्ने कामम गरिएको थियो । मतगणनासमेत उम्मेदवारको अनुपस्थितिमा गर्ने काम भएको थियो । यसरी उम्मेदवारको अनुपस्थितिमा मत गनेर नेतृत्वले चाहेको र खेल क्षेत्रसँग असम्बन्धित व्यक्तिलाई जिताउन अनेरास्ववियुको नेृतत्वमा रहेका थोमस बास्तोला र राधिका खतिवडालाई प्रयोग गरिएको थियो ।
त्यसो त महासंघको नेतृत्वदायी भूमिकामा रहेकाहरू आपूm आवद्ध संघमा समेत सकरात्मक प्रभाव छाड्न असफल रहे । महासंघको उपाध्यक्ष विनोद मैनाली नेपाल क्रिकेट संघमा भएको भ्रष्टाचार प्रकरणमा आरोपित व्यक्ति हुन् ।
उनी अहिले छानबिनको घेरामा रहेका छन् । विश्व फुटबल महासंघ फिफाबाट समेत आर्थिक रिपोर्टमा असहमति जनाएर छनबिन गरिएका अध्यक्ष गणेश थापाको निकट पात्रका रूपमा महासंघका अर्का उपाध्यक्ष मोहम्मद समिउल्लाह रहेका छन् ।
पार्टीले नबुझेका खेलकर्मी
राजनीतिमा समेत महत्वपूर्ण भूमिका निभाइसकेका थुप्रै व्यक्तिलाई आफू आबद्ध दलले पहिचान गर्न नसक्दा उनीहरूको खेलकुदसम्बन्धी ज्ञान उपयोग हुन नसकेको विगतदेखिको यथार्थ हो । यसक्रममा पनि एमाले अघि र्हयो । कुनै समय युवा संघमा खेलकुद विभाग इन्चार्ज भइसकेका करातेकर्मी पुरेन्द्रविक्रम लाखे खेलकुद महासंघमा अटाएनन् ।
रत्नराज्य लक्ष्मी क्याम्पसमा पूर्वस्ववियु सभापतिसमेत रहेका करातेका वरिष्ठ प्रशिक्षक महेन्द्र राइलाई पनि महासंघको सचिवालय सदस्यभन्दा बढीको जिम्मेवारी दिएको छैन । प्रतिबन्धित कालमा उदयरपुरमा तत्कालीन माले नेता अशोक राई र सुशीला श्रेष्ठ भूमिगत हुँदादेखि नै माले राजनीति निकट विन्दा थापालाई महासंघको केन्द्रीय कमिटीमा प्रवेश पाउन नै लामो समय कुर्नुपर्यो ।
दक्षिण एसियाली महिला ह्यान्डबल च्याम्पियनसिपमा तेस्रो स्थान पाउन सफल महिला ह्यान्डबल टोलीका खेलाडी विन्दा सुरुआती कालदेखिकै प्रशिक्षक समेत हुन् ।
करातेकर्मी पुरेन्द्र लाखे भन्छन, ‘खेलकर्मी स्वाभिमानी हुन्छन् । कसैको दास हुँदैनन् । नेता कहाँ बिहानै नधाउनेलाई नपत्याउने गलत परिपाटीको विकास भएको छ । यसको अन्त्य हुनै पर्छ ।’
त्यसो त खेलकुदमा पहिलो राजनीतिक भातृसंगठन खडा गर्ने माओवादी पनि यस कुरामा कमजोर देखियो । पूर्वसभासद् तथा कराते खेलाडी किरण राई हाल नेकपा माओवादी(चन्द) मा आबद्ध छन् ।
माओवादीले पहिलोपटक खेलकुद मन्त्रालय सम्हाल्दा पार्टी विभाजन नभए पनि परिषद् सञ्चालनमा उनको सल्लाह र सहयोग खोजिएको थिएन । एमाओवादीको नेतृत्व तहमै रहेकी धर्मशिला चापागार्इं जुडोको अन्तर्राष्ट्रिय पदकधारी खेलाडी हुन् । जुडो संघको उपाध्यक्ष बनाइनुबाहेक माओवादीले उनलाई अन्य कुनै पनि ढंगले खेल क्षेत्रमा ल्याउन हिच्किचाइ नै रह्यो ।
हक्कीका पूर्वअन्तर्राष्ट्रिय खेलाडी देवेन्द्रराज कँडेल कांग्रेसी राजनीतिमा चिनिएका नाम हुन् । तर, कांग्रेसले पनि खेलकुदमा संगठनात्मक गतिविधि अघि बढाउँदा उनको भूमिका गौण ठानियो । कांग्रेसकी सभासद् सरिता प्रसाईं करातकी पूर्वराष्ट्रिय खेलाडी हुन् । तथापि, उनको भूमिका पनि खेलकुद क्षेत्रमा देखिएको छैन ।
प्रतिक्रिया