जाजरकोट, ४ वैशाख । यहाँ झन्डै ३ सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी–२ का ५० वर्षीय बादी टमटा, अर्छानी–७ का ५८ वर्षीय हंशबहादुर टमटा र अर्छानी–४ का २ वर्षीया बालिका ऋतु टमाटाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्लाका का स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको छ । २३५ स्वास्थ्यकर्मीको दरबन्दीमा १७४ जनाको पदपूर्ति भएको छ भने ६१ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली छ । मेडिकल अधिकृत २ जनाको दरबन्दी खाली छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत १ जना खाली रहनुका साथै हाल निमित्तको भरमा काम चलिरहेको छ । सिनियर अहेब ९ जनाको दरबन्दी रिक्त छ ।
त्यस्तै ४ जना अहेबको दरबन्दी खाली छ । चार जना स्टाफ नर्सको पद खाली छ । त्यस्तै १ जना मेडिकल सुपरिटेन्डेन्ट रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा स्वीकृत १२ जनाको दरबन्दीमध्ये अहिले जम्मा ५ जनाको पदपूर्ति भएको छ भने ७ जना रिक्त छ । यहाँ मेडिकल अधिकृतदेखि स्टाफ नर्स, अहेबसम्म खाली छ ।
प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ११ जनाको दरबन्दी रहे पनि अहिले ६ जनाको पदपूर्ति भएको तथ्यांकमा देखिन्छ भने ५ जनाको दरबन्दी रिक्त छ । यहाँ पनि मेडिकल अधिकृतको दरबन्दीदेखि अहेबसम्मको दरबन्दी खाली छ । स्वास्थ्य चौकी टालेगाउँमा ६ जनाको दरबन्दी लिष्टमा देखिन्छ भने अहिले कार्यालयमा ३ जनाले काम सञ्चालन भइरहेको छ ।
यहाँ पनि सिनियर अहेब खाली छ । यो अहिले सिजिनल फ्लुबाट प्रभावित क्षेत्र हो ।
यस्तै जिल्लाका अधिकांश ग्रामीणस्तरमा रहेका स्वास्थ्य केन्द्रमा दरबन्दी देखाए पनि काममा नखटी काजमा अर्कै ठाउँमा काम गरिरहेको देखिन्छ ।
प्रतिक्रिया