ह्वाइट हाउस ध्वस्त पार्छु भन्ने दुई नेपाली पक्राउ

काठमाडौं, ३ वैशाख । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बम हानेर ध्वस्त पारिदिने धम्की दिने दुई नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । न्युयोर्कमा बस्दै आएका २८ वर्षीय गुरु धिमाल र कोलम्बसमा बस्दै आएका ६७ वर्षीय भगिरथ कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

९११ टोल फ्री नम्बरमा फोन गरेर उनीहरूले आफूहरूलाई अलकायदाका सदस्य भएको बताएका थिए । उनीहरूले ह्वाइट हाउससहितका अन्य सरकारी निकायसमेत बमले उडाउने धम्की दिएका थिए ।

अदालतले कोइरालालाई परिवारको जिम्मा लगाएर रिहा गरेको छ भने धिमालसँग २५ हजार अमेरिकन डलर धरौटी मागेको छ । अदालतमा चलेको बहसक्रममा धिमालको स्वास्थ्य अवस्था ठीक नभएको भन्दै स्वास्थ्य परीक्षण गरिने भएको छ । फोनमा उनीहरूले आफूहरू सवार बससमेत आतंकवादी समूहको निगरानीमा रहेको बताएका थिए ।

अमेरिकी प्रहरीले दुवैलाई बसबाटै पक्राउ गरेको हो । तत्काल बस भएको स्थानमा पुगेको प्रहरीले सुरक्षा जाँच गर्दा विस्फोटक पदार्थ भने फेला पारेको थिएन । पक्राउ परेका धिमालमाथि प्रहरीले त्यहाँको कानुनअनुसार आतंक फैलाएको आरोप लगाएको छ । त्यसैगरी, कोइरालामाथि आतंक फैलाउन मद्दत गरेको अभियोगमा मुद्दा चलाएको छ ।

प्रतिक्रिया