नयाँ वर्ष २०७२ सालको आगमनसँगै ‘सौर्य’ दैनिकको पुनरागमन भएको छ– नयाँ जोश, उत्साह र जाँगरका साथ । जसरी एउटा सिङ्गो वर्षमा धेरै दिन, साता, महिना र फरकफरक मौसम हुन्छन्; त्यसैगरी ‘सौर्य’को यात्रामा पनि अनुभवहरूका अनेक घुम्ती र भँगालाहरू आए ।
यस्तै अनेक कारणले गर्दा यो यात्रा निष्कण्टक एवं सतत् रहन सकेन र ‘सौर्य’ पछिल्ला केही महिना प्रिय पाठकहरूबाट टाढिएर बस्नुपर्यो । त्यो थकान थिएन, मात्र विश्राम थियो । अब विश्रामको त्यो घडी समाप्त भएको छ र ‘सौर्य’ नयाँ ऊर्जाका साथ वेगवान् हुन तपाईंहरू माझ आइपुगेको छ ।
वैशाख १ गतेको प्रभाती आभासँगै हामी नयाँ वर्षसित हातेमालो गर्दै हिँड्न थालेका छौँ । यो वर्षसँगै हामी नेपालीका अनेक आशा र उत्साह जोडिएका छन् तर यी आशा र उत्साहबीच हालसम्म अनिर्णित थुप्रै प्रश्नको अनुत्तरित शृंखला छ ।
खासगरी संविधान सभाबाट यो मुलुक र मुलुुकवासीले अपेक्षा गरेको चिरप्रतीक्षित नयाँ संविधान यो वर्ष जारी हुन सक्ला या नसक्ला ? के जनमत संग्रहमा जानु नपर्ने गरी संघीयता र प्रादेशिक विभाजन, राजकीय स्वरूप र न्याय प्रणालीको ढाँचामा सबै सम्बद्ध पक्षबीच मतैक्य हुन सक्ला ? के सत्तारूढ नेका र एमाले दलहरू संविधान निर्माण निम्ति बहुमतीय प्रक्रियामा जान सफल हुन सक्लान् ? अथवा, ‘बहुमतको ध्वाँस दिने’ भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले फेरि पनि संविधान सभा बैठक कक्षलाई ‘रणभूमि’ बनाउने नीति अख्तियार गरिरहने छ ?
नेपाल सरकारका विभिन्न मन्त्रीका उटपट्याङ प्रवचनबाजीको सिलसिला उसै गरी जारी रहला वा त्यसमा कुनै रोकथाम होला ? के अबोध बालिका र निर्दोष महिलाले पशुवत् मानसिकता पालेका पुरुषहरूबाट बलात् यौनसिकार हुने बढ्दो प्रवृत्ति कम होला ? अथवा के महिलाविरुद्ध हुने र भइरहेका हिंसा अन्त्य गर्दै लान राज्य पक्षले केही कुनै पहल सार्वजनिक गर्ला ? वैदेशिक रोजगारमा गएका हजारौँ लाखौँ मुलुकवासी युवाले दुखजिलो गरी पठाएको विप्रेषण रकम र आमनागरिकले पसिनाको कमाइबाट तिरेको कर सरकारले कति प्रतिशत जनहित वा राज्यको कल्याणमा लगाउँछ र कति प्रतिशत भत्ता वा विदेश सयरमा खर्चिन्छ ? विकास र लोककल्याणका के कस्ता कार्यक्रम यस वर्ष नेपाली जनताका सामु पस्किइने छन् ? के नयाँ वर्षले नेपाली नेताहरूमा त्यस्तो केही सद्बुद्धि ल्याउला ?
प्रश्नहरू धेरै छन् । जवाफ थोरै । तापनि, जुन समय एउटा सानो एन्ड्रोइड मोबाइलमार्फत सारा विश्व नै तपाईंको हत्केलामा आइपुगेको छ र जगत् नै डिजिटल बन्दै गएको छ, त्यस्तो समयमा जनअपेक्षा प्रशस्त छ । खासगरी सञ्चार क्षेत्रले त निकै लामो फड्को मारेको छ । फेसबुक, एसएमएस र ट्विटरसमेतका सामाजिक सञ्जालको अतिशय व्यापकता, अनलाइन मिडियाको निरन्तर बिस्तारिँदो सञ्जाल अनि हतारिँदो मानव जीवनशैलीको फैलिँदो प्रभावले छापाका सञ्चारको भविष्यबारे सवालिया दृष्टि उठ्न थालेको धेरै भइसकेको छ ।
यस्तोमा ‘सौर्य’ आफ्नो अनलाइन संस्करणसँगै प्रकाशनमा आएको छ । हामी देश र देशवासी तथा संघीय गणतन्त्रको हितमा कार्य गर्न सदा भैँ प्रतिबद्ध छौँ । अकर्मण्यता, अन्याय र विशृंखलताविरुद्ध आवाज उठाउनु तथा वाणीहीनहरूका लागि यथार्थपरक एवं सबल वाणी बन्नु हाम्रो पेसागत दायित्व हो जसलाई हामीले सदैव आफ्नो मार्गदर्शक मानिरहने छौँ ।
हाम्रा समस्त पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूको माया सदा भैँm प्राप्त भइरहने विश्वास हामीलाई छ । तपाईंहरूको माया र सहयोग नै हाम्रा लागि बलियो आधार हो ।
नयाँ वर्ष २०७२ सबैका लागि शुभ होस् ।
प्रतिक्रिया