काठमाडौं । आदिवासी जनजाति आन्दोलनको सेरोफेरोमा केन्द्रित ‘पहिचान आन्दोलन वृत्तचित्र’ निर्माण भएको छ । आइतबार पहिलो प्रदर्शन गरिएको ७८ मिनेट लामो वृत्तचित्र ‘पहिचानवादी योद्धाहरु’प्रति समर्पण गरिएको लेखक तथा निर्देशक भीषण राईले बताए ।
उनका अनुसार वृत्तचित्रमा बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विविधता बोकेको नेपाली समाजमा एकात्मक शाषण व्यवस्थाले गर्दै आएको दमन र आदिवासी जनजातिले गुमेको सम्मान र पहिचान मागेको विषयलाई देखाउन खोजिएको छ । मधेसी, मुस्लिम, दलित, महिलामाथि हुने सबै खालका विभेद यथावत रहेको पनि देखाइएको छ । उत्पीडित जनताको गुमेको आत्मसम्मान र पहिचानका विषयवस्तु वृत्तचित्रमा उठाइएको छ ।
पहिलोपटक पहिचान पक्षधर र विपक्षीबीच ठूलो धु्रवीकरण पैदा भएको, सबै उत्पीडित तथा उपेक्षित सडकमा ओर्लिएको, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित पहिचानमा आधारित संघीयता मागिरहेको विषयलाई समेटिएको उनले सुनाए । ‘संघीयता र पहिचानको मुद्दाबारे फैलाइएका भ्रमलाई चिर्नु यो वृतचित्रको मुख्य उद्देश्य हो,’ उनले भने ।
राजधानीमा वृत्तचित्र प्रदर्शनीको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता डा. ओम गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा फोनिज अध्यक्ष डण्ड गुरुङ, जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पा, लेखक युग पाठक, चलचित्र निर्माता ज्योतिराज राई, किरात फोर्सका केन्द्रीय सचिव डीबी सरोजलगायतले पहिचानका विषयमा बोलेका थिए । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले कार्यक्रममो नेतृत्वको गरेका थिए ।
प्रतिक्रिया