काठमाडौं । बागमती सरसफाई अभियानको सय हप्ता पुगेको अवसरमा आयोजित मानव साङ्लो कार्यक्रममा कलाकारहरूले पनि सहभागिता जनाएका छन् । कलाकारहरू राजधानीको तिलगंगा, बल्खु, तीनकुने, पशुपतिनाथलगायतका क्षेत्रमा पुगेर मानव साङ्लो अभियानमा आफ्ना हात मात्र दिएनन् केही समय बागमती सफाई अभियानमा जुटे ।
चर्चित हाँस्य कलाकार तथा फिल्म निर्मात्री दीपाश्री निरौला आज बिहानै तिलगंगा क्षेत्रमा पुगेर कार्यक्रममा सहभागिता जनाइन् । धेरै पटक बागमती सफाई अभियानमा सहभागिता जनाइसकेकी दीपाले त्यहाँ करिब दुई घण्टा बिताइन् ।
‘यो कार्यक्रमले मान्छेले चाहे जे पनि गर्न सक्छ भन्ने उदाहरण दिएको छ’, दीपाले भनिन्, ‘हाम्रा बुवा, हजुरबुवाहरू बागमतीको पानीले नुहाउने, पिउने कुरा गर्नुहुन्थ्यो, जुन कुरा अहिले दन्त्यकथा जस्तो लाग्छ, तर यसरी नै एकजुट भएर अघि बढ्ने हो भने बागमतीलाई अवश्य पनि हामी पहिलेकै अवस्थामा फर्काउन सक्छौं ।’
दीपा कलाकारहरू लक्ष्मी गिरी, कविता शर्मालगायतका साथमा तिलगंगा पुगेकी थिइन् ।
अर्का हाँस्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ पनि अभियानलाई साथ दिन तीनकुनेस्थित बागमती नदीमा पुगे । एमाओवादीका नेता पुष्पकमल दाहाल, बावुराम भट्टराई, अग्नि सापकोटा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त स्थानमा जितु र केदार घिमिरे ‘माग्ने बुढा’ पुगेका थिए ।
‘मानव साङ्लोमा सहभागिता जनाउँदा बागमतीको अगाडितिर एकछिन उभियौं, त्यसपछि केही समयका लागि नदी सफा गरियो’, जितुले भने, ‘यसरी बागमती सफा गर्नुभन्दा पनि बागमतीमा फोहोर गर्नेलाई कारवाही गर्न सक्नुपर्छ, अनि मात्र बागमती सधैं स्वच्छ र सफा हुन्छ ।’
यसअघि दुई तीन पटक बागमती सफाई अभियानमा गएका जितु शनिबार श्रीमती मुनासहित देखिए । मुना काठमाडौं महानगरपालिकाको कर्मचारी पनि भएकाले कार्यक्रममा सहभागी भएको जितुले बताए ।
अभिनेता आयुष रिजालले पनि तिलगंगा परिषरमा करिब आधा घण्टा बिताए । मानव साङ्लोमा सहभागिता जनाए पनि बागमती सफाई अभियानमा भने उनको विचार अलिक फरक किसिमको रहेछ । ‘बागमती सफाई अभियान मेरो विचारमा एउटा नौटंकी मात्र हो, स्कुलका बालबालिकादेखि हरेक क्षेत्रका मानिसहरू प्रयोग गरेर बागमती सफा गर्दैमा नदी स्वच्छ बन्दैन’, उनले भने, ‘बाघडोरदेखि चोभारसम्मको स्थानमा दुवैतिर ड्रेन बनाएर करिडोरका रुपमा विकास गरे मात्र बागमती सफा हुनसक्छ । यो सफाई अभियान चाहिँ मैले केबल ग्ल्यामर्स मात्र देखिरहेको छु ।’
अर्का हाँस्य कलाकार शिवहरि पौडेल भने बिहानी समयमा नै बल्खु पुगे । ‘बागमतीको फोहोर सोर्न बल्खु एरियामा गा’को, कतैपनि फोहोर नदेखेर फर्किनु पर्यो । घरतिर लाग्दैछु । अब फोहोर गर्नेलाई कारबाही भएत ठीकै हो नत्र बाचुञ्जेल सफा गरिरहन पर्छ, हुन त ठूलाबडाका काम छैन सफा गरिरहन्छन नी ।’ उनले फेसबुकमा आफ्नो तस्वीरसहित यो स्ट्याटस पोष्ट गरेका छन् ।
त्यस्तै कमेडियन मनोज गजुरेलले पनि ‘जय बागमती’ लेख्दै मानव साङ्लो कार्यक्रममा हात जोडेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, गायिका कोमल ओली, अभिनेता सुनिल खतिवडा, सरोज खनाल, निशा शर्मा, टेलिसिरियल ‘भद्रगोल’का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’ र निर्देशक तथा कलाकार शंकर आचार्यलगायत पनि मानव साङ्लो अभियानमा उपस्थित थिए । जेठ १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘चंखे शंखे पंखे’ले पनि फिल्मी प्रमोसनसँगै अभियानमा पनि सहभागिता जनाएको थियो ।
प्रतिक्रिया