काठमाडौं, २८ चैत । बाग्मती सफाइ महाअभियान १००औँ हप्ता विशेष कार्यक्रममा हज्जारौंको सहभागिता भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालादेखि प्रमुख राजनीतिक शीर्ष नेता, आम नागरिक, निजामती, जङ्गीदेखि विद्यार्थी, सञ्चारकर्मी, नागरिक समाजको सहभागिता रहेको छ ।
बाग्मती नदीको सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रको दुवै किनारामा मानव साङ्लो निर्माण भएको हो ।
बाग्मती नदी प्रणालीको सरसफाइ सम्बन्धमा आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रमअनुसार बिहान ७ः१५ बजे राष्ट्रिय गानबाट सुरु भएको थियो ।
महाअभियानमा ‘बाग्मती नदी सफा गछौँ’ ,‘सफा गर्न सक्छौँ’ ‘हामीले नगरे कसले गर्छ’, ‘अहिले नगरे कहिले गर्ने’ भन्ने सपथसमेत लिइएको र मानव साङ्लो निर्माण गरी नदी किनार सफा गरिएको छ ।
सफाइका लागि सरकारले विभिन्न मन्त्रालयका १३ जना सचिवलाई विभिन्न १३ स्थानमा संयोजक तोकेको छ भने विभिन्न क्षेत्रमा स्थापित १२ जना व्यक्तित्वलाई समन्वयकर्ताको जिम्मा दिइएको छ ।
अभियानमा सहभागिताका लागि प्रमुख तीन राजनीतिक दलले आ–आफ्ना नेता तथा कार्यकर्तालाई अभियानमा सहभागी हुन निर्देशन दिइसकेको छ र शीर्ष नेताहरु पनि सो अभियानमा सक्रिय सहभागी हुने जनाइसकेका छन् ।
मुलुकले नै महाअभियानको रुपमा चित्रण गरेर सकारात्मक सन्देश दिन लागेकाले सबैले आ–आफ्ना कार्यकर्तालाई सहभागिताका लागि परिचालन गरिएको छ ।
बाग्मती सफाइको महाअभियानलाई विगत १०० हप्तादेखि सञ्चालनमा रहेको छ ।
मानव सभ्यताको अनुपम नमुनाको रुपमा रहेको बाग्मती नदीलाई सफा बनाउनका लागि सबै राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ तथा सङ्गठनले सक्रिय सहभागिता जनाउँदै आएका छन् । सफाइ महाअभियान एक सय हप्ता पुगेको अवसरमा आज बिहान बाग्मती नदीमा ५६ किलोमिटर लामो मानव साङ्लो बनाइएको हो ।
बाग्मतीको मुहान सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा ५० हजारभन्दा धेरै सहभागी भई मानव साङ्लो बनाउने भएपछि राजनीतिक दलले पनि आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेका छन् ।
प्रतिक्रिया