काठमाडौं । ‘नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०१५’मा नेपालका २ चलचित्र ‘मसान’ र ‘रंग बैजनी’ प्रदर्शन हुने भएका छन् ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजनामा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा जेठ ११ देखि ३ दिन हुने फेस्टिभलमा नीर शाह निर्देशित ‘मसान’ र शम्भु प्रधानको ‘रंग बैजनी’ छनोट भएका हुन् । फेस्टिभलमा सहभागिता जनाउन दर्जनभन्दा बढी चलचित्रले आवेदन दिएका थिए । निर्देशक लक्ष्मीनाथ शर्मा, कलेजकी प्रिन्सिपल डा. मञ्जु मिश्र, ध्वनि विशेषज्ञ आलोक तिवारी र चलचित्रकर्मी आदिम आचार्य छनोट समितिमा छन् ।
गोपालप्रसाद रिमालको नाटक ‘मसान’मा आधारित ‘मसान’मा तत्कालीन समाजमा पत्नीबाट सन्तान नहुँदा दोस्रो विवाह गर्ने प्रवृत्तिलाई समेटिएको छ । यस चलचित्रमा राजबल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगानालगायतका कलाकारको अभिनय छ । नारीप्रधान ‘रंग बैजनी’मा गरिमा पन्त, दिक्पाल कार्की र सुमिना घिमिरेको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ ।
आयोजकका अनुसार फेस्टिभलमा सहभागिता जनाउन अफ्रिकाका २० मुलुकका ५० चलचित्रले आवेदन दिएका छन् । यी चलचित्रलाई अहिले निर्णायक समितिले चयनका लागि हेरिरहेको कलेजकी प्रिन्सिपल तथा महोत्सव अध्यक्ष डा. मिश्रले बताइन् । यसपटक महोत्सवमा अफ्रिकी मुलुकका ८ र नेपाली २ वटा गरी १० चलचित्र प्रदर्शन गरिनेछ ।
प्रतिक्रिया