काठमाडौं । मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरले अनुशासनहीन र अव्यवहारिक काम गरेको भन्दै ‘मिस नेपाल २०१४’ की फस्ट रनरअप (मिस नेपाल अर्थ २०१४) प्रिन्सा श्रेष्ठको ताज खोसेको छ ।
संस्थाको आइतबार बसेको बोर्ड बैठकले प्रिन्साले अनुशासनभन्दा बाहिर गएर काम गरेको भन्दै उनको ताज खोसिएको जनाएको हो ।
काठमाडौंको बालाजुमा बस्ने प्रिन्साले संस्थाको अनुमति बिनै हालै इजिप्टमा आयोजना गरिएको ‘मिस इको क्विन २०१५’मा सहभागिता जनाएपछि ट्रेजर र उनीबीच सम्बन्ध चिसिएको थियो ।
संस्थाद्वारा जारी विज्ञप्तिमा प्रिन्साले उपविजेता बनेपछि अव्यवहारिक र अस्वीकार्य हुने किसिमको व्यवहार देखाएको उल्लेख छ । ‘आफ्नो ताज जोगाउनु साट्टो विवादास्पद छवि बनाउँदै मिडियामा पनि प्रश्न उठ्ने किसिमका काम गरेपछि बोर्ड बैठकले उनको ताज खोस्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
ट्रेजरले गत मार्च ३१ मा आफ्नो आधिकारिक फेसबुक पेजमा आफू र ‘मिस अर्थ पिजेन्ट’ आयोजक कारौसल प्रोडक्सनको प्रिन्साले इजिप्टमा सहभागिता जनाएको कार्यक्रममा आफूहरूको कुनै संलग्नता नरहेको भन्दै पोष्ट गरेको थियो ।
संस्थाका अनुसार अब यो ताज पोखराकी सोनी राजभण्डारीले पाउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सोनी प्रतियोगिताको सेकेण्ड रनरअप (मिस नेपाल इन्टरनेशनल २०१४)की विजेता हुन् ।
गत वैशाख १९ गते राजधानीमा आयोजित ‘मिस नेपाल २०१४’ मा उनले ‘मिस नेपाल अर्थ’को उपाधि जित्दै २०१४ को नोभेम्बर २९ मा फिलिपिन्समा आयोजित ‘मिस अर्थ २०१४’मा सहभागिता जनाएकी थिइन् । जुन प्रतियोगितामा उनले ‘मिस अर्थ फोरम पिपुल्स च्वाइस अवार्ड’ र ‘मिस अर्थ पिजेन्ट २०१४’मा ‘इको ब्युटी भिडियो टाइटल अवार्ड’ जितेकी थिइन् ।
यसअघि सन् १९९८ मा पनि मिस नेपाल उपाधि विजेता ज्योति प्रधान अमेरिकामा आयोजित मिस वल्र्ड १९९८ मा सहभागिता जनाएर उतै बसेपछि हिडेन ट्रेजरले पनि उनको ताज खोसेको थियो । उनको तास प्रतियोगिताको फष्ट रनरअप निरु श्रेष्ठलाई प्रदन गरिएको थियो ।
प्रतिक्रिया