काठमाडौं । अधिकांश लेखक जस्तो लेख्छन् उनीहरुको जीवन पद्धति त्यसरी बाँचेको हुँदैन । धेरै कम मात्र हुन्छन् जसले आफ्नो जीवन लेख्छन् र उनीहरु सार्थक र समृद्धि जीवन बाँचेका हुन्छन् ।
‘समृद्धिका लागि उद्यम त गर्नै पर्छ, तर उद्यमबाट प्राप्त समृद्धिले मात्र सार्थक जीवन बाँच्न सकिँदैन,’ कानुनमन्त्री नरहरि आचार्यले भने, ‘जब मानिस आफैंप्रति ढुक्क हुन्छ तब मात्र उसले सार्थक र समृद्ध जीवन बाँच्न सक्छ ।’ मित्रसेन दाहालको ‘सार्थक र समृद्ध जीवन’को विमोजनपछि मन्त्री आचार्यले यस्तो बताएका हुन् । उनले सार्थक र समृद्ध जीवन पुस्तकमा पढ्नुभन्दा लेखकको जीवन नै खुला किताब भएको बताए ।
‘मेरा अन्य साथी पनि छन्, जो मृगौला प्रत्यारोपणपछि ओछ्यान लागेका र सामान्य गतिविधि गरेर बिरामी जीवन बिताइरहेका छन्,’ उनले भने, ‘तर, मित्रसेनजी लेखनदेखि समाजसेवाका काममा अझ सक्रिय भएर लागिरहनुभएको छ, उहाँबाट कम्तीमा आजको पुस्ताले प्रेरणा लिन सक्नुपर्छ ।’
लेखक दाहालका दुवै मृगौला फेल भएर प्रत्यारोपण गरिएको थियो । लेखक दाहालले २०६५ सालमा मृगौला प्रत्यारोपण पछिमात्र ८ पुस्तक लेखिसकेका छन् । राजनीति, अध्यात्म र भौतिक दुनियाँसम्म कलम चलाइरहेका दाहालले सबैभन्दा पहिले नेपालमा विज्ञापन व्यवसाय नामको पुस्तक लेखेका थिए ।
‘मैले विगतका पुस्तकलाई पुनः नियालेर आफैं समीक्षा गरें, मैले लेखेका पुस्तक त मानिसको जीवनमा कम महत्वका पो रहेछन् ।’
उनले प्रकाशन गर्न बाँकी केही पुस्तकलाई परिस्कृत गरेर काम लाग्ने भए मात्र प्रकाशन गर्ने बताए । भने, ‘त्यसपछि सार्थक हुने देखें भने पुस्तक लेख्ने र प्रकाशन गर्ने काम गर्छु नत्र पुस्तक लेख्नै छाडिदिन्छु ।’
‘मुलुक अघि बढ्दै गर्दा हामीले चाहेको के हो भन्ने विषयमा यो पुस्तक लेखिएको हो,’ उनले भने, ‘तर, यो पुस्तक प्रकाशन भएर पनि विमोचनको साइत नजुर्दा केही ढिला भयो ।’
प्रतिक्रिया