काठमाडौं । हेर्दै नपत्याउने जस्ता देखिने यवकले अनामनगरको कार्यालयमा भने, ‘दाई मैले फिल्म बनाएको छु । हेरिदिनु होला है । सक्नु हुन्छ भने समाचार पनि बनाइदिनु न ।’
नपत्याउने गरेर सोँधे, ‘फिल्मको नाम के हो ?’
उनले भने, ‘रोल्पा रोग’
‘यस्तो पनि नाम हुन्छ ?’
ती युवकले भने, ‘अर्काको चोरी गर्नुभन्दा त यही ठीक छ ।’
मलाई पनि उनको जवाफले कता कता छोयो । र सोँचे । हिन्दी वा अंग्रेजी फिल्मका नाम हुबहु राखेर नेपाली फिल्म बनाउने होडबाजी चलिरहेका बेला ‘रोल्पा रोग’ नामै काफी छ ।
त्यसपछि मैले ती भाइलाई सोँधे । तिम्रो नाम के हो नी ? दीपक ओली ।
कति वर्ष भयौं ?
‘२५ मा लागे’
यति सानैमा आफै फिल्म बनाएको की अरुले बनाइ दिएको ?
‘फिल्म बनाएको मात्रै होइन, निर्देशन र लगानी पनि आफैं गरेको छु ।’
झन् म चकित परे । बावुले कमाएको पैसा खर्च गर्न त के भो र है ? उनले भनिहाले, ‘हेर्नुस् दाई मैले फिल्म सनकको भरमा बनाएको होइन । ‘रोल्पा रोग’मा सर्वसाधारणले सशस्त्र द्वन्द्वका बेला पाएको दुःखलाई कथा समेटेको छु ।’
‘मैले फिल्मसम्बन्धी विषय पढेर यो क्षेत्रमा लागेको हुँ, उनले भने, ‘मेरो काम हेरेर मात्रै टिप्पणी गर्नुस् ।’ सानो, दुब्लो ख्याउटे परेको केटोको कुरामा दम थियो । जब मैले उनको फिल्मको सम्पादनमा रहेको फिल्मको केही दृश्य हेरे । उनलाई बुझ्न धेरै समय लागेन ।
देख्दै नपत्याउने लाग्ने ती दीपकसहितको समूहले बनाएको ‘रोल्पा रोग’ फिल्म काल्पनिक विषयमा बनेको होइन । फिल्ममा तत्कालीन विद्रोही नेकपा (माओवादी)को सशस्त्र युद्ध र त्यसले उब्जाको एउटा सानो घटनालाई कथामा उतारिएको छ ।
निर्देशक दीपकले भने, ‘सबैले भन्छन् मेरो फिल्म यस्तो छ, उस्तो छ । कथा यस्तो छ, उस्तो छ । मेरो फिल्ममा त्यस्तो कुनै कथा होइन वास्तविक कथा हो । तर कसैले ध्यान नदिएको सानो विषय छ ।’
दीपकले भनेअनुसार कथा सुन्दै जाँदा मेरो मन कता कता धरमरायो पनि ।
वास्तवमा शान्ति प्रक्रियामा मुलुक गएपनि त्यसले छोडेको घाउ अझै पनि प्रभावित क्षेत्रका जनताले अझै भूल्न सकेका छन् । जाति नै ठूला कुरा गरे पनि माओवादीले दिएको चोट अझै पनि गाउँमा छ । त्यसलाई भूल्न दसकौ लाग्ने छ ।
‘रोल्पा रोग’मा युद्धबाट पीडित भएका तीन जना गाउँका युवाहरूको कथालाई करिव दुई घण्टामा समेटिएको रहेछ । युद्ध र त्रासबाट गाउँमै बस्न बाध्य बनेका तीन जना युवाहरू कमाउन र त्रासबाट जोगिन विदेश जाने सपना बुन्न थाल्छन् । अनि सुरू हुन्छ उनीहरूको वास्तविक कथा । र गाउँबाट भाग्छन् ।
‘रोल्पा रोग’को कथामा दीपकले थोरैथोरै हाँस्य विषय पनि समेटेका छन् ।
दर्शकलाई फिल्ममा बाँधेर राख्न उनले हाँस्यविधालाई समेटेका बताए ।
कथाअनुसार पीडा भूल्न र कमाउन विदेश हिँडेका तीन युवालाई गाउँमा माओवादीको सशस्त्र युद्धभन्दा पनि सहरको ठगी युद्धले आतंकित तुल्याउँछ ।
चर्को व्याजमा ऋण काडेर आएका उनीहरू विदेश जान सक्छ वा सक्दैन त्यो भने फिल्ममै हेर्नुपर्ने हुन्छ । अनि उनीहरूको सपना साच्चै पूरा हुन्छ वा हुँदैन भनेर हेर्न बाध्य बनाएका छन् ‘रोल्पा रोग’का निर्देशक दीपकले ।
रोल्पा, दाङ, सल्यानलगायतका जिल्लाका ग्रामीण भेगमा गएर फिल्म शूटिङ गरेको उनले बताए । भने, ‘फिल्म बनाउन सुरू गरिहाले । तर छायंकन सकेर काठमाडौं आउँदा युद्ध जिते सरह भएको मानेको छु ।’
‘रोल्पा रोग’ पोष्ट प्रोष्ट प्रोडक्सनको अन्तिम चरणमा छ । सबै प्राविधिक कामहरू सम्पन्न हुने चरणमा छन् । फिल्ममा छायंकन गरिएको दृश्यअनुसार ध्वनी राख्नुका साथै साउन्ड इफेक्टमा सुक्ष्म रुपमा ध्यान दिइएको निर्देशक दीपकले बताए ।
फिल्मका निर्माता भने थलबहादुर ओली हुन् । संगीत गोविन्द मधुर आचार्य र शिशिर भण्डारीले गरेका हुन् । गीतमा स्वर गोविन्द र रीता केसीको छ ।
नृत्यको जिम्मा अशोक विकले लिएका छन् । ‘रोल्पा रोग’लाई भदौमा रिलिजको तयारीमा निर्देशक दीपक छन् । सोहीअनुसार वितरकहरूसँग कुरा पनि चलेको छ ।
‘रोल्पा रोग’मा शिशिर भण्डारी, कुलदीप अधिकारी, जनक थापा, सुशील पोखरेल, रामबावु आक्रोश, विनु खड्का, मुकुन्द भुसाल, जोनी अञ्जान, रीतु रसाइली आदिको अभिनय छ ।
प्रतिक्रिया