अर्बौं डलर सहयोगको खाँचो : राष्ट्रसंघ

Un-flag-square

एजेन्सी
कुवेत सिटी, १७ चैत । संयुक्त राष्ट्रसंघले सिरियाका लागि अर्बौं डलरबराबर सहायताको खाँचो रहेको जनाएको छ ।

राष्ट्रसंघका दाताहरुको सम्मेलनका क्रममा उसले यस्तो धारणा अघि सारेको हो । सिरियामा मानवीय बिचल्ली भएको भन्दै विज्ञले सम्मेलनको सुरुवात गर्न लागेका हुन् । जसका कारण विश्वका दाता राष्ट्रले सिरियाको सहयोगका लागि सम्मेलन आयोजना गरेका हुन् ।

सिरियामा ४ वर्षभन्दा लामो समयदेखि जारी गृहयुद्धका कारण त्यहाँका नागरिक बिचल्लीमा परेका छन् । राष्ट्रसंघले यस वर्षको सुरुमै सिरियाका लागि कम्तीमा साढे ८ अर्ब अमेरिकी डलरको खाँचो रहेको जनाएको थियो । राष्ट्रसंघले सो सहयोगका लागि सबै दातासँग आग्रह पनि गरेको छ ।

कुवेतमा मंगलबार सुरु हुन लागेको सम्मेलनमा विश्वका करिब ७८ देशका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । सम्मेलनको अध्यक्षता राष्ट्रसंघका महासचिव बान कि मुनले गर्नेछन् । सम्मेलनको उद्घाटन कुवेतका राजाले गर्ने कार्यक्रम छ ।

मानवीय सहायतासम्बन्धी राष्ट्रसंघीय विशेष दूत अब्दुल्लाह अल मातुकले सिरियामा दिन प्रतिदिन महसुश भइरहेको मानवीय सहायताका लागि यो सम्मेलन गरिएको जानकारी दिए ।

सिरियामा ४ वर्षदेखिको गृहयुद्धका कारण कम्तीमा २ लाख नागरिकको ज्यान गइसकेको छ ।

प्रतिक्रिया