काठमाडौं । युरोपेली संघको आयोजनामा राजधानीमा ‘युवाको आवाज’ शीर्षकमा शुक्रबारदेखि चौथो चलचित्र महोत्सव सुरू भएको छ ।
काठमाडौंस्थित युरोपेली प्रतिनिधिमण्डलको आयोजना तथा ब्रिटिस काउन्सिल र संघका आबद्ध २७ मुलुकको सहकार्यमा आयोजित पाँचदिने मेलाको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले उद्घाटन गरे ।
त्यस अवसरमा उनले महोत्सवमा प्रदर्शन गरिने १९ मुलुकका चलचित्रले विश्वभरका युवाका चासो सम्बोधन गरेको बताउँदै युरोपका बारेमा जानकारी लिन पनि महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मुख्यसचिव लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्व राजदूत, विभिन्न राजनीतिक दलका नेता, कलाकार र वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
महोत्सवमा अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक डेनमार्क, जर्मनी, इटाली, फ्रान्स, फिनल्यान्ड, आयरल्यान्ड, ग्रीस, स्लोभाकिया, लिथवानिया, हङ्गेरी, लम्जेम्बर्ग पोर्चुगल, स्पेन, नेदरल्यान्डस् र संयुक्त अधिराज्यका चलचित्र प्रदर्शन गरिनेछ ।
कमलपोखरीस्थित कुमारी चलचित्र घरमा बिहान ११ बजे र अपराह्न साढे तीनबजे गरी दैनिक दुईवटा चलचित्र प्रदर्शन हुने र ‘पहिले आउने सेवा पाउने’ आधारमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया