काठमाडौं : यथार्थवादी गीतलाई महत्व दिई सांगीतिक क्षेत्रमा देखापरेका गायक थिरज राई यति बेला विदेशका कार्यक्रममा व्यस्त छन् । केही साताअघि विदेश उडेका उनले हङकङ, मलेसिया, सिंगापुरलगायत मुलुकमा सांगीतिक प्रस्तुति दिइसकेका छन् ।
डेढ दशकअघि इलामको लक्ष्मीपुर गाविसबाट आएर काठमाडौंमा संघर्षरत गायक तथा संगीतकार राईको स्वदेशसँगै विदेशमा पनि व्यस्तता बढ्न थालेको हो । पहिलोपटक नै विभिन्न मुलुकमा सांगीतिक प्रस्तुत दिन पाउँदा आफूमा खुसीको सीमा नरहेको उनले सौर्यलाई बताए ।
‘यो यात्राबाट म निकै उत्साहित छु,’ उनले भने, ‘विभिन्न देशमा रहनुभएका नेपाली गीतसंगीतप्रेमीले माया गर्नुभयो, हौसला थपिदिनुभयो ।’
उनले केही दिनअघि हङ्कङमा आयोजित एकल प्रस्तुतिमा तेस्रो एल्बम ‘निमन्त्रणा’को विमोचनसमेत गरेका थिए । उक्त प्रस्तुतिमा उनले केही आफ्ना र अन्य गायकका गीत गाएका थिए । आज (शुक्रबार) बेलुका थाइल्यान्डको बैंककमा प्रस्तुति दिने उनले जानकारी दिए ।
‘यहाँ रहेका नेपालीका लागि आज बेलुका गाउँदै छु । यति नै गीत गाउँछु भन्ने छैन,’ उनले भने, ‘माहोल कस्तो बन्छ, त्यहीअनुसार गाउने हो ।’
उनले २ साताजति पछि स्वदेश फर्कने जानकारी दिँदै यहाँ आएपछि नयाँ एल्बमका साथै केही गीतको भिडिओ सार्वजनिक गर्ने योजना सुनाए ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील उनी २०६४ मा मात्र सोलो एल्बम ‘अघि–पछि’ लिएर दर्शक÷श्रोतामाझ औपचारिक रुपमा आएका थिए । त्यसपछि उनको २०६८ सालमा ‘कलियुग’ एल्बम बजारमा आएको थियो । उनले ६ दर्जनभन्दा बढी गीतमा स्वर, ३ सयजति भजन र सयभन्दा बढी आधुनिक गीतमा संगीत दिइसकेका रहेछन् ।
प्रतिक्रिया