काठमाडौं । एमाओवादी निकटका संगीतकार चेतन सापकोटाले भारतीय फिल्म ‘भाग मिल्खा भाग’सँग मेलखाने गरेर ‘भाग सनी भाग’ नामक चलचित्र बनाउन लागेका छन् ।
हुनत बलिउड फिल्मका गीतसंगीतबाट हुबहु संगीत चोरीको आरोप खेप्दै आएका सापकोटाले आलोचनाको बेवास्ता गर्दै ‘भाग सनी भाग’को शुभमुहूर्त गरेका हुन् । सापकोटालाई बलिउड फिल्मको संगीत चोरीको आरोप छ ।
बलिउड फिल्म ‘बोल बच्चन बोल’को ‘चलाओन…..’ बोलको गीतको संगीत हुबहु चोरी गरेर एक नेपाली फिल्ममा राखेका थिए । सो गीतको संगीत चोरी गरेको भनेर संगीतकार सापकोटाको खुबै आलोचना भएको थियो ।
उनलेको यो फिल्ममा बरिष्ठ कलाकार नीर शाह, चलेकी नायिका केकी अधिकारीसमेतले अभिनय गर्ने पक्का भइसकेको छ ।
एमाओवादीको राजनीति गर्दै आएका संगीतकार सापकोटाले फिल्म निर्माणमा पहिलो पटक हात हालेका छन् ।
फिल्मको निर्देशन भने नवल नेपालले गर्ने छन् । फिल्मको लेखन पनि नवलले गरेका हुन् ।
फिल्ममा नीर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटालगायतका कलाकारको अभिनय रहनेछ । मुहुर्तमा केकीले झोला बोकेर भाग्दै गरेको अभिनय गरिन् ।
चलचित्रमा रंगिन सपना बोकेर आ–आफ्नो गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथा बुनिएको छ ।
चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको द्वन्द्व र दीव्यराज सुवेदीको छायाँकन रहने छ ।
प्रतिक्रिया