नौमती बाजा संरक्षणमा युवाहरू सक्रिय

Naumati Bazaबेनी । परम्परागत रुपमा दमाई समुदायले बजाउँदै आएको नौमती बाजा लोप हुँदै गएपछि जिल्लाको भकिम्ली गाविसका छन्त्याल युवा त्यसको संरक्षणमा जुटेका छन् ।

दमाई समुदायका वृद्धले मात्र नौमती बाजा बजाउँदै आएको तर युवाले यसतर्फ ध्यान नदिँदा लोप हुने अवस्था देखेपछि छन्त्याल युवा यसको संरक्षणमा लागेका हुन् ।

पछिल्लो समयमा आधुनिक सङ्गीतका नाममा नेपाली लोकबाजा र मौलिकता सङ्कटमा पर्न थालेको भन्दै उनीहरु संरक्षणमा जुट्न थालेका हुन् ।

बाजा संरक्षणका लागि उनीहरुले छन्त्याल नौमती बाजा समूह नै गठन गरेका छन् ।

गाउँघरमा हुने विवाह, व्रतबन्धदेखि लिएर अन्य स्वागत सत्कारका कार्यक्रमहरुमा समेत नौमती बाजाको माग हुने गरेको भए तापनि दमाई समुदायले नौमती बाजालाई संरक्षण गर्न नसक्दा बाजा लोप हुँदै गएको स्थानीय युवा मेघनाथ सुवेदीले बताए ।

गाउँघरमा हुने विवाह, व्रतबन्धलगायत कार्यक्रममा अहिले छन्त्याल बाजा समूहले बाजा बजाउने गरेका स्थानीय युवा सुवेदीले बताए ।

छन्त्याल युवाको यो अधियान संस्कृति संरक्षणमा महत्वपूर्ण कार्य भएको उनको भनाइ थियोे ।

विवाहका लागि अनिवार्य बाजाका रुपमा रहेको नौमती बाजा अहिले खोजेर पनि नपाइने अवस्था सिर्जना भएपछि आफूहरुले यसको संरक्षणमा जुटेको नौमती बाजा समूहका अध्यक्ष डम्बरबहादुर छन्त्यालले बताए ।

उनको नेतृत्वमा नौमती बाजा समूह गठन गरी गाउँमा पर्ने विवाहलगायतका समारोहमा पहिचान जोगाउन लागेका छन् ।

नौमती बाजा गाउँघरको पहिचान भएकाले यसको संरक्षणमा जुटेको युवा अम्बर छन्त्यालले बताए ।

नेपालको परम्परागत सङ्गीतलाई सुगम सङ्गीतको आगमनले केही ओझेलमा पारेकाले परम्परागत नौमती बाजा संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने उनीहरुले बताएका छन् ।

नौमती बाजा बजाउने थप जनशक्ति उत्पादन गर्न उनीहरुले समय–समयमा तालिमको समेत आयोजना गर्दै आएका छन् ।

नौमती बाजामा नरसिंहा, दमाहा, सहनाई, ट्याम्को, ढोलक, झ्याम्टा गरी नौवटा बाजा समावेश गरिएका हुन्छन् ।

प्रतिक्रिया