‘जनताले नचाहेको आन्दोलनको तुक छैन’

pashupati-shumsherभक्तपुर, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर विपक्षी दलले घोषणा गरेको आन्दोलनको तुक नभएको बताएका छन् ।

रफत् सञ्चार क्लब आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले जनताले आन्दोलन नचाहेको बेलामा घोषणा गरेको आन्दोलनले कुनै प्रभाव नपार्ने बताए ।

राप्रपा अध्यक्ष राणाले भने, “यतिखेर देश र जनताले आन्दोलन होइन, संविधान खोजिरहेको छ, आन्दोलनले संविधान दिँदैन, जनताले नचाहेको आन्दोलनको अर्थ छैन, वार्ताबाटै निकास खोज्नुपर्छ ।”

एमाओवादी नेतृत्व ३० दलीय मोर्चा वार्ता छाडेर आन्दोलनको घोषणा गर्नु दुर्भाग्य भएको उनको भनाइ थियो ।

यो आन्दोलनले देशलाई राम्रो नगर्ने बताउँदै उनले सत्तापक्षले संविधान निर्माणको प्रक्रिया सुरु गर्नुअघि विपक्षी मोर्चासँग वार्ताको अन्तिम प्रयास गर्नुपर्ने बताए ।

राप्रपा र राप्रपा नेपालबीचको एकीकरणका बारेमा बोल्दै उनले ठूला दल असफल भएको निष्कर्ष निकाल्दै देश र जनताले खोजेको नयाँ शक्तिका रूपमा उदाउन दुई पार्टी एकीकरणका लागि अगाडि बढेको बताए ।

प्रतिक्रिया