गोरखाबजार, २७ फागुन । गोरखा नगरपालिका–३ स्थित ढाँडगाउँकी १८ वर्षीया चिजा बिकले बाबुको काजकिरिया गरेकी छन् ।
छोरासरह उनले आफ्ना बाबु ५४ वर्षीय बोधबहादुरको काजकिरिया गरेकी हुन् । बिगत छ दिनदेखि उनी काजकिरियामा बस्दै आएकी छन् ।
“छातीको रोगले बुबालाई अल्पायुमै लग्यो”, चिजाले भनिन्, “बाबु–आमाको मृत्युपछि किरिया गर्न छोरै चाहिन्छ भन्ने परम्परा तोडेकी हुँ ।”
आर्थिक अवस्था कमजोर भएकाले बोधबहादुरले समयमै उपचार गर्न पाएका थिएनन् । साथै बाबुको मृत्युपछि घाटमा दाहसंस्कारका लागि चिजा पनि जानुभएको थियो । “साँझमा बुबाको शव लिएर घाटमा गयौँ”, चिजाले भनिन्, “दागबत्ती मैले नै दिएँ ।”
चिजाका दाजुभाइ छैनन् । “मेरा दाजुभाइ छैनन्”, चिजाले भनिन्, “छोरा मात्रै होइन, छोरी पनि सन्तान हो ।” बाबुको अन्तिम संस्कारका गर्ने अनुमति चिजाले परिवारसँग र आफन्तसँग लिएकी थिइन् ।
समाजको अन्धविश्वास अन्त्य गर्न र बाबुको अन्तिम संस्कारका लागि आफूले काजकिरिया गरेको उनको भनाइ छ ।
काजकिरियाका क्रममा आवश्यक परेको सहयोग परिवार, छिमेकी र आफन्तहरुले गर्दै आएका छन् ।
१३औँ दिनमा काजकिरिया सकिने परिवारका एक सदस्यले जनाएका छन् ।
प्रतिक्रिया