काठमाडौं, २१ चैत । सैनिक प्रतिष्ठान खरिपाटीमा प्रथम पटक तिन विदेशी सैनिक अधिकृत तालिममा सहभागी भएका छन् । भक्तपुरस्थित प्रतिष्ठानमा सञ्चालित तालिममा मालदिभ्स, नाइजेरिया र केन्याबाट एक–एक अधिकृत क्याडेट सहभागी थिए । करिब २४ महिना अवधीको उक्त तालिम शुक्रबार सकिएको छ ।
तालिममा नाइजेरीयाका इएम वानवाई, केन्याका साहस बायरु गिगी र माल्दिभ्सका नामिल अब्दुल गाफुर सहभागी थिए । तालिममा उत्कृष्ट ठहरिएका नाइजेरीयाका इएम वानवाइलाई प्रधानमन्त्री सुशील कोइरालाले पुरस्कार स्वरुप खुकुरी प्रदान गरेका थिए ।
तालिममा सहभागी नाइजेरीयाका अधिकृत क्याडेट इएम वानवाईले नेपाली सेनाको तालिम प्रभावकारी रहेको बताए । उनले नेपालमा आफुले प्राप्त गरेको तालिम आफ्नो देशमा उपयोगी हुने विश्वास व्यक्त गरे । सेनाको माउण्टेन वारफेयर, जंगल वारफेयर, प्यारा बेशिक तथा स्टाफ कलेजबाट हालसम्म ३ सय विदेशी सैनिक अधिृकत, पदिक तथा अन्य दर्जाकाले तालिम लिए पनि सैनिक प्रतिष्ठानको अधिकृत तालिममा विदेशी सहभागी भएको भने यो पहिलो हो ।
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले अधिकृत क्याडेड आधार तालिममा प्रथम हुने दिपेन्द्रविक्रम केसी तथा पदिक/हुद्धा अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने गणेश कार्कीलाई सोर्ड अफ अनर तथा महिलातर्फ सर्वोत्कृष्ट हुने रश्मिला अर्याललाई ट्रफी प्रदान गरेका थिए ।
२४ महिना अवधिको उक्त तालिममा २० महिला,२ सय २० अधिकृत क्याडेट, ३३ पदिक तथा हुद्धा अधिकृत क्याडेट र ३ विदेशी क्याडेट सहभागी थिए । शुक्रबारबाट २ सय ७६ अधिकृत क्याडेटहरु सहायक सेनानीको दर्जामा नियुक्त भएका छन् ।
सेना संविधान र कानुनभित्रै छ : प्रधानमन्त्री
कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनाले जलिहे पनि संविधान र कानुनले निर्धारण गरेको परिधिभित्र रहेर काम गरको बताएका थिए । सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले आफ्नो जिम्मेवारी व्यवसायीक ढंगले निपूर्णतापूर्वक सम्पन्न गर्ने जिम्मेवार संगठनको रुपमा नेपाली सेनाले आफूलाई स्थापित गरेको बताए ।
कोइरालाले नेपाली सेना राष्ट्रिय विपद् व्यवस्थापन, राष्ट्र विकास, स्वास्थ्योपचार र शिक्षाजस्ता सामाजिक सेवामा पनि समर्पित हुँदै आएको धारणा राखे । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका कोइरालाले संयुक्त राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनामा पुर्याएको योगदान र वलिदानले देशको छवी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उज्वल भएको तर्क गरे ।
प्रतिक्रिया