सेना पठाउने निर्णयपछि शिविरहरुमा झन् तनाव

काठमाडौं, २८ चैत । माओवादी लडाकु रहेका शिविरहरू मंगलबारदेखि नै नेपाली सेनाको मातहतमा रहने निर्णयपछि लडाकुहरूले विरोध गरेका छन् । साँझसम्म सेना  पुगेका शिविर शान्त देखिएको छ भने सेना नपुगेका शिविरमा मोहन वैद्य पक्षधर लडाकुले तोडफोड र आगजनी गरेका छन् ।
चौथो डिभिजनअन्तर्गत नवलपरासीको झ्याल्टुङडाँडामा रहेको मुख्यालयमा सेना पुगे पनि राति अबेरसम्म प्रवेश गरेको छैन ।
यस्तै, सेना नपुगेको चौथो डिभिजनको सहायक शिविर परिवर्तन स्मृति शिविर हात्तीखोरमा वैद्य पक्षधर लडाकुले दुईवटा गाडी र दुईवटा मोटरसाइकल जलाएका छन् । घटना नियन्त्रणमा लिन नवलपरासीका डिएसपी मुकुन्द मरासिनीको नेतृत्वमा ६५ प्रहरी त्यहाँ गएका छन् भने राति दमकल पठाइएको छ ।
लडाकुले समायोजन नभई आत्मसमर्पण भएको र अपमान भएको भन्दै नाराबाजी गर्दै आगजनी गरेका हुन् । लडाकुले विद्रोह समिति नै बनाएर अराजक गतिविधि गरेपछि हात्तीखोरमा तनाव भएको छ । कमान्डर तेजबहादुर ओलीले लडाकुले विरोध जनाएको बताए ।
यस्तै, कैलाली मसुरियामा रहेको लिस्नेगाम स्मृति बि्रगेड बडैपुरमा समायोजनमा जाने र स्वेच्छिक अवकाश रोजेका लडाकुबीच सामान लैजानेबारे विवाद भएको थियो । स्वेच्छिक अवकाश रोजेका लडाकुले शिविरबाट सामान बाहिर लैजान खोजेपछि विवाद भएको हो ।
स्वेच्छिक अवकाश रोजेका लडाकुले शिविरका चारवटा टहरा तोडफोड गरेका छन् । उनीहरूले नेपाली सेनाले नापतौल गरेर समायोजन गर्ने भनेपछि आक्रोशित भई तोडफोड गरिएको बताएका छन् । शिविरमा सेनाको टोली राति अबेर पुगेको छ ।
यता, सुर्खेत दशरथपुरस्थित छैटौं डिभिजन र सहायक शिविरको सुरक्षाका लागि सेनाको टोली पुगेको छ । मध्यपश्चिमाञ्चल हेडक्वाटरबाट सेनानी विश्वराज पराजुलीको नेतृत्वमा गएको टोलीले मंगलबार साँझदेखि शिविरको जिम्मा लिएको छ । पराजुलीको नेतृत्वमा एक सय पाँचको संख्यामा सेना शिविरमा प्रवेश गरेको छ ।
सेना मातहतमा शिविर रहने निर्णयको वैद्य पक्षधरका एमाओवादी नेताले प्रतिवाद गरिने बताएका छन् । एमाओवादी सुर्खेतका इन्चार्ज कृष्ण धमलाले शान्ति, संविधान र सेना समायोजन सँगै हुनुपर्नेमा सरकार र संस्थापन पक्षले आत्मसर्मपण गरेको आरोप लगाए । उनले भने, ‘हामी यसको कडा प्रतिवाद गर्नेछौं ।’
यस्तै, तेस्रो डिभिजन शक्तिखोरमा भरतपुर ब्यारेकबाट सेनाको टोली पुगेको छ । भरतपुर ब्यारेकका गणपति ज्योतेन्द्र महतको नेतृत्वमा एक बटालियन शिविर पुगेको हो । सेनाले मंगलबार साँझ नै हतियार कब्जामा लिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद सिंहका अनुसार राती करिब ९.३० बजे चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरमा विष्फोटको आवाज सुनिएको छ ।
दुई हजार दुईसय १४ लडाकु रहेको शिविरका अधिकाँशले अवकाश रोज्ने भएका छन् । सेनाको मातहतमा शिविर रहने निर्णयपछि राति अबेरसम्म बसेको बैठकले शिविरबाट एक हजार दुई सयलाई समायोजनमा पठाउने आन्तरिक तयारी असफल पार्ने निर्णयमा लडाकु पुगेका छन् । अचानक ब्यारेकभित्र सेना प्रवेशपछि लडाकुले खास प्रतिरोध गर्न सकेका छैनन् ।
मंगलबार दिउँसोसम्म पाँच सयको हाराहारीमा समायोजनमा जाने तयारी गरेका लडाकुले सरकारले अपमानित ढंगले काम गरेको बताउँदै अवकाशमा जाने तयारी गरिएको बैठकपछि एक सहायक बटालियन कमान्डरले बताए ।
सोमबार रातभर तनाव रहेको इलामको चुलाचुलीस्थित १ नम्बर डिभिजनमा राति अबेर मेजर दीपक श्रेष्ठको नेतृत्वमा एक सय २७ सेना पुगेको छ । शिविर सोमबार रातिदेखि सशस्त्रको घेरामा थियो । लडाकुले कमान्डरले आर्थिक हिनामिना गरेको बताउँदै तोडफोड र आगजनी गरेपछि सशस्त्रले डिभिजनको सुरक्षा दिएको हो ।
यस्तै, मोरङमा सरकारी निर्णयको मोहन वैद्य पक्षधर एमाओवादी नेता तथा पूर्व कमान्डरहरूले विरोध गरेका छन् । पूर्वबि्रगेड उपकमान्डर बाबुराम राईले जनमुक्ति सेनालाई बर्दीसहित आत्मसमर्पण गराइएको बताउँदै क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाइने बताए ।
वैद्य पक्षधर सभासद् तथा कोचिला राज्य समिति सेक्रेटरी सावित्रीकुमार काफ्लेले समायोजन र दर्जा मिलान कांग्रेस र एमालेले चाहेअनुसार मात्रै भएको बताए ।  वैद्य पक्षधर मोरङका सेक्रेटरी कुशल लिम्बूले बिपी कोइरालाले पछुताएजस्तै जनमुक्ति सेनालाई आत्मसर्मपण गराएकामा पार्टी नेतृत्वले पछि गल्ती भयो भनेर पछुताउनुपर्ने दिन आउने चेतावनी दिए ।
यसैगरी, रोल्पास्थित दहवनमा रहेको शिविर मुख्यालय र सहायक शिविरमा नेपाली सेना पुगेको छ । दाङ र रोल्पाको लिवाङबाट नेपाली सेनाको टोली पाँचौं डिभिजन मुख्यालय र सहायक शिविरमा पुगेको हो । यस्तै, सिन्धुली दुधौलीमा रहेको दोस्रो डिभिजनमा पनि सेना पुगेको छ ।

प्रतिक्रिया