हतियार माग्दै सेना

nepal_army copyकाठमाडौं, १० चैत । प्रधानसेनापती गौरवशमशेर राणाले सेनालाई हतियार तथा गोलिगट्टा आपुर्ती गर्न सरकारसंग माग गरेका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक सोमबार सैनिक मुख्यालय पुगेका प्रधानमन्त्री शुसिल कोइरालालाई सेनापतीले मुलुकमा द्धन्द्धको अन्त्य भए पनि सेनालाई थप हतियार आवश्यक भएकाले आपुर्तीको लागी ब्यवस्था मिलाउन आग्रह गरे । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री कोइरालासँग सैनिक मुख्यालयमा भएको भेटमा प्रधानसेनापति राणाले सेनालाई गराइदै आउको गोली गठ्ठाको आपुर्ती जारी राख्न माग गरे । प्रधानसेनापतीले सेनाको १० वर्षे दिर्घकालिन योजनाबारे समेत प्रधानमन्त्री कोइरालालाई बिफ्रिङ गरेका थिए । सो अवसरमा बोल्दै प्रधानसेनापती राणाले शान्ती स्थापनामा योगदान पुर्‍याउने नेपाल सरकारको नीति भएको भन्दै शान्ति स्थापनार्थ विदेश जाने सैनिकको संख्या ५ हजार पुर्‍याउने प्रतिबद्धता अनुरूप उनीहरूलाई पूर्ण क्षमताको बनाउनका लागी आवश्यक पर्ने यातायातका साधन, हतियार तथा गोलीगठ्ठा, संचार उपकरण र बन्दोवस्ती उपकरण जस्ता सामग्री उपलव्ध गराउन पनि सरकारसंग माग गरेका छन् ।
राणाले राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानसेनापतीको प्रत्यक्ष सहभागीता रहने गरी संवैधानिक व्यवस्था हुनुपर्ने माग समेत गरेका छन् । यसअघि प्रधानसेनापती सुरक्षा परिषद्मा सदस्य रहने व्यवस्था भएपनि लोकतन्त्रपछि भने सेनापतीलाई सुरक्षा परिषद्मा आमन्त्रित सदस्यका रूपमा राखिएको छ ।
प्रधामन्त्री कोइरालालाई सैनिक मुख्यालयमा बिफ्रिङ गर्दै प्रधानसेनापती राणाले हालै सम्पन्न भएको संविधानसभाको दोस्रो निर्वाचनमा सेनाले प्राप्त जिम्मेवारी व्यवसायीक ढंगले सम्पन्न गरेको दावी गर्दै त्यसले सेना लोकतान्त्रिक राष्ट्रिय शक्ति हुनुको साथै लोकतन्त्रको रक्षक समेत प्रमाणित भएको बताएका थिए ।
‘राज्यले शक्तिको प्रयोग गर्नु पर्ने भएमा के, कति, कहिले, कहां गर्ने विषय र शक्तिको उपयोगिताको विचार गरी विद्यमान ३६० डिग्रीमा व्याप्त सुरक्षा चुनौतिहरूको सामना गर्न सक्ने क्षमतावान, गतिशिल, अनुकुल र बलियो सैनिक संगठनको रूपमा क्रमिक विकास गर्दै लैजानुपर्छ’ प्रधानसेनापति राणाले भने ‘सेनाको क्षमता अभिबृद्धका लागी गरिने खर्चलाई सेक्ट्रोरल स्पेन्डिङको रूपमा बजेट उपलब्ध गराउने नीति भएमा त्यसले सेनाको दिर्घकालिन योजना कार्यान्वयन गर्न मद्दत पुग्छ ।’
सो अवसरमा नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी पदम विलास कार्कीले राष्ट्रिय सुरक्षा रणनीति, वर्तमान तथा भावी सुरक्षा चुनौति, नेपाली सेनाको आगामी कार्यदिशा र १० वर्षे दीर्घकालिन योजना र तथा चुनौतिहरूको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, उपप्रधानमन्त्री तथा संसदीय मामिला र स्थानिय विकास मन्त्रि प्रकाशमान सिंह, अर्थमन्त्री डा. रामशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधी, वन तथा भूसंरक्षण मन्त्री महेश आचार्य, सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे लगायतको पनि उपस्थिती थियो ।
सेनाको भूमिका सधैँ राष्ट्र हितमा : कोइराला
प्रधानमन्त्री शुसिल कोइरालाले आधुनिकीकरण गरी सबल र सक्षम बनाई व्यवहारिक रूपमा नेपाली सेनालाई स्थापित गर्न सक्दो सहयोग गर्ने बताएका छन् ।
सैनिक मुख्यालयको निरिक्षण भ्रमणमा पुगे कोइरालाले बदलिंदो सुरक्षा चूनौतीलाई सामना गर्न नेपाली सेनाले प्रस्ताव गरेका लक्ष्यलाई पुरा गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षामा आउने नयां–नयां चुनौतिहरूको अध्ययन अनुसन्धान गरी त्यसको सामना गर्न सेनाले आफुलाई सक्षम बनाउंदै लैजानुपर्ने बताए । उनले राष्ट्रिय सुरक्षाका विषयमा राजनीतिक दलहरूसंग साझा विचार कायम गरी राष्ट्रिय सुरक्षा नीति तर्जुमा गर्नुपर्नेमा सवै सहमत हुनु पर्ने धारणा राखे ।
२०६२–६३ को जनआन्दोलनको समयमा देखाएको परिपक्व व्यवहारले नेपाली सेना राष्ट्र र जनताको सर्वाेत्तम हितभन्दा बाहिर जांदैन भन्ने प्रमाणित भएको धारणा समेत सो कार्यक्रममा प्रधानमन्त्री कोइरालाले राखेका थिए ।

प्रतिक्रिया